६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

सम्झनामा गायक वैद्य

सम्झनामा गायक वैद्य
अ+ अ-

काठमाडौँ । ‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित हुनुभएको छ । शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उहाँको कालजयी विसं २०४२ मा रेकर्ड भएको थियो ।

सङ्गीतकर्मीले उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिँदै ‘सपना भुलाइ सारा’ गीत गाउँदै बिदाइ गरे । उहाँको बिदाइमा उपस्थित अधिकांशका आँखा रसाएका थिए । कालजयी गीत गाउनुभएका गायक वैद्यको बिदाइ कसैका लागि सहज थिएन । उहाँ गायकसँगै कवि पनि हुनुहुन्थ्यो । वैद्यको निधनले साङ्गीतिक र साहित्य क्षेत्रमा अपूरणनीय क्षति पुगेको श्रद्धाञ्जलि दिनेको भनाइ थियो ।

बाल्यकालमा आमाबाट नेवारी भाषाको सरस्वती बन्दना सुन्दै हुर्किनुभएका गायक वैद्य त्यही समयमा गीतसङ्गीतप्रति आकर्षित हुनुभयो । त्यसपछि बुबाले एक दिन घरमा रेडियो ल्याउनुभएपछि उहाँको सङ्गीतसँगको नाता झनै झाँगियो । उक्त रेडियोमा उहाँले नेपालीसँगै हिन्दी गीतहरूलाई सुन्ने र बुझ्ने मौका पाउनुभयो । उहाँले रेडियो नेपालमा दिनुभएको एक अन्तर्वार्तामा रेडियोलाई साथीका रुपमा चित्रण गर्नुभएको छ ।

विसं २०१४ मा चीनका प्रधानमन्त्री चाउ एन लाइ नेपाल भ्रमणमा आएका बेला शान्ति निकुञ्ज सहविद्यालय पुग्नुभएको थियो । त्यहाँ आयोजित सांस्कृतिक कार्यक्रममा गायक वैद्यले गीत गाउनुभयो । विभिन्न साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै गीतसङ्गीतसँग नजिकिँदै जानुभएका गायक वैद्यले रेडियो नेपालमा किरण खरेलको शब्द र नातिकाजीको सङ्गीतमा पहिलो गीत ‘कति प्यासी छ जिन्दगी…’ रेकर्ड गर्नुभएको थियो ।

उहाँलाई चिनाउने गीत ‘सपना भुलाइ सारा’ बनेको गायक तथा सङ्गीतकार टीका भण्डारीले बताउनुभयो । वैद्यले आफूलाई सुहाउने भन्दै सङ्गीतकार नातिकाजीसँग उक्त गीत माग्नुभएको उहाँले जानकारी दिनुभयो ।

“एक दिन गायक वैद्य नातिकाजीको कोठामा पुग्नु भएछ । त्यहाँ टेबलमा पहिलोपटक उक्त गीत देख्नुभयो । त्यसपछि उहाँले मलाई यो गीत मन पर्यो नातिदाइ, म गाउँछु भन्नुभएछ । त्यसपछि उहाँले स्टुडियोमा अभ्यास गरेर गीत गाउनुभएको हो”, गायक भण्डारीले भन्नुभयो । उहाँले गायक वैद्यले व्यावसायिक रुपमा गीत गएको सम्झना नभएकोसमेत बताउनुभयो ।

“उहाँले गीत गाएर पैसा लिएको सम्झना छैन । उहाँले श्रोताको मन छुने गीतमार्फत आफूलाई प्रस्तुत गर्नुभयो । उहाँको अभाव नेपाली सङ्गीतमा रहिरहनेछ । म रेडियो नेपालमा कार्यरत रहँदा उहाँसँग काम गर्न पाएको थिएँ । उहाँको गीतमा वाद्यवादन पनि गरेको छु”, गायक भण्डारीले भन्नुभयो, “वैद्य गीत र शब्द चिन्न सक्ने गायक हुनुहुन्थ्यो । उहाँ धेरै गीत गाउने गायक होइन । थोरै गीतलाई पाँचदेखि छ महिनासम्म अभ्यास गरेर गाउने गर्नुहुन्थ्यो ।”

गायक तथा सङ्गीतकार शम्भुजित बाँस्कोटाले गायक वैद्य मखमली आवाजका धनी रहेको बताउनुभयो । “उहाँसँगको सामीप्यतालाई भन्ने शब्द छैन । तीन दिनअगाडि मात्र कुराकानी भएको थियो । उहाँले मेरो सङ्गीतमा पाश्र्व गायन पनि गर्नुभएको छ”, उहाँले भन्नुभयो, “वैद्यले सधैँ भारतीय गायकजस्तो नेपाली गायकगायिका बन्नुपर्नेमा जोड दिने गर्नुहुन्थ्यो । उहाँ सुगम सङ्गीतका लागि संरक्षक हुनुहुन्थ्यो । उहाँले समय–समयमा दिएका अभिव्यक्ति, गाउनुभएका गीत, गीतसङ्गीत गर्ने तरिका सबै गहन हुन्थ्यो । उहाँ अत्यन्तै गहन व्यक्तित्व हुनुहुन्थ्यो ।” सङ्गीतकार बाँस्कोटाले गायक वैद्यको विदाइ सहज नभएको प्रतिक्रिया दिँदै उहाँले छाडेर जानुभएका गीतसङ्गीत र कृतिहरु रहिरहने बताउनुभयो ।

उहाँको आवाजको प्रभावमा आफूलाई काठमाडौँसम्म ल्याएको सङ्गीतकार तथा गायक चेतन सापकोटाले बताउनुभयो । “उहाँको आवाजको जादुले कलामा लाग्न प्रेरित गर्ने धेरै युवा छन् । उहाँको गीतसङ्गीतलाई मैले शब्दमा व्यक्त गर्न सक्दिनँ । उहाँलगायत अग्रज सर्जकको आवाजले रेडियो नेपाललाई थप उचाइमा पुर्याएको भन्छु म”, उहाँले भन्नुभयो, “म वैद्यको आवाजले सङ्गीतमा भविष्य खोज्दै एघार वर्षको उमेरमा सिन्धुपाल्चोकदेखि काठमाडौँ आएको थिएँ । त्यो समयमा सोचविचार केही थिएन । योगेश दाइ झैँ उक्त समयका अन्य गायकको आवाजमा आफ्नो आवाज राख्दै गीतसङ्गीत सुरु गरेको हुँ ।”

नयाँ पुस्ताका उदीयमान गायक कर्णराज गिरीले उहाँको गीत महोत्सवमा गएको स्मरण गर्नुभयो । “उहाँसँग मेरो प्रत्यक्ष भेटघाट कमै रह्यो । त्यस्तो धेरै नजिक पनि होइन तर उहाँको गीतले हामी जस्तालाई गायक बन्ने सपना देखाउनाका साथै चिनाएको पनि छ”, उहाँले भन्नुभयो, “आफ्नै परिचय नहुँदा उहाँकै गीत गाएर मेला महोत्सवमा परिचय बनाएको हुँ । उहाँको गायन प्रभावले मलाई गायनमा लाग्न प्रत्यक्ष रुपमा सहयोग गरेको छ ।”

राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गर्नुभएका साहित्यकार वैद्यका विभिन्न कृति प्रकाशित छन् । उहाँको गीति कवितासङ्ग्रह ‘समय प्रवाहमा छुटेका पलहरू’ प्रकाशित छ । विसं २००३ असार २४ गते काठमाडौँको नरदेवीमा जन्मिनुभएका गायक वैद्यको श्रीमती, दुई छोरी र एक छोरा छन् ।

करिब पाँच सय नेपाली गीत तथा झन्डै एक सयभन्दा बढी नेपाल भाषाका गीतमा स्वर दिनुभएका वैद्य पछिल्लो समय पक्षघातसम्बन्धी समस्या झेलिरहनुभएको थियो । गायक वैद्यको केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएकामा केही दिनदेखि रुघाखोकीबाट ग्रसित हुनुहुन्थ्यो । ७७ वर्षको उमेरमा सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो । उहाँको ‘नेपाल मेरो तिमीलाई’, ‘चोट दिलमै रातदिन’, ‘आँखैमा रात’, ‘यो लामो जीवनमा किन म हतासहतास छु’ लगायत गीत कालजयी छन् । भेषराज कार्की/रासस