२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

हात्तीको आक्रमणबाट बच्न गणेशको पूजा गर्दै पदमबहादुर

हात्तीको आक्रमणबाट बच्न गणेशको पूजा गर्दै पदमबहादुर
अ अ+ अ-

झापा । बिहानीपख भालेको डाकसँगै बारीमा सर्याकसुरुक्क आवाज आएपछि झस्किएकी पवित्रा राईले मस्त निद्रामा रहेका पति पदमबहादुरलाई ब्युँझाउँदै भन्नुभभो, “छिटो उठ्नुस्, भागौँ, हात्ती आइसक्यो ।” 

झापाको भद्रपुर नगरपालिका–१ दशरथपुरमा बाँसका बेरा र टिनको छानो भएको सानो घरमा बस्दै आउनुभएको छ पदमबहादुर राईको दम्पती । उहाँहरु नजीकको जलथल जङ्गलबाट गाउँ पसेको जङ्गली हात्तीको आक्रमणबाट बच्न एक महिनाअघि गरेको प्रयास थियो त्यो । 

“त्यसछि ओछ्यानबाट उठेर आँखा मिच्दै आँगनमा पुगेँ”, ६६ वर्षीय पदमबहादुरले हात्तीसँगको मुठभेडमा कालको मुखबाट उम्किएको कथा सुनाउन थाल्नुभयो । “लामो दाह्रा हल्लाउँदै एउटा हात्ती मेरो अघि उभिएको थियो । म पूर्वतिर सास नफेरी भागेँ । बीस फड्को मारिनसक्दै हात्तीले लखेटेर समायो । सुँढले बेरेर पहिले लडायो, अनि खाँबो जत्रो खुट्टा र भालुबास जत्रो सुँढले लतार्न थाल्यो । म खेतको आली मुन्तिर ढुन्मुनिएर पछारिएँ ।”

पदमबहादुर भन्दै हुनुहुन्थ्यो, “उसले मलाई टाङमुनि हालेर कुल्चेर मार्न खोजिरहेको थियो । मैले बाँच्ने आश मारिसकेको थिएँ । तैपनि मर्ने नै भइसकेपछि किन नभिड्नु भन्ने सोचेर हातमा भएको फगी लाइटले उसको सुँढमा लगातार बेस्मारी हिर्काइरहेँ । मलाई सुँढले बेर्न खोजिरहेको थियो । दाह्राले मलाई भुइँमा धस्न खोज्यो । उसको दाह्रा आलीको डिल भत्काउँदै छलिएर गयो । उसले खुट्टाले कुल्चिन खोज्यो, मैले सर्पले झैँ जीउ बटारेर छलेँ । भुइँको माटोको धुलो मुठ्याएर हात्तीको आँखैमा फ्याँकिदिएँ । फेरि मैले फगी लाइट र मुड्कीले उसको सुँढको टुप्पो र निधारमा हिर्काइरहेपछि हात्ती क्वाँ गर्दै कराएर पछाडि हट्यो ।”

घरजत्रो भीमकाय जङ्गली हात्तीलाई भिडन्तमा यसरी पराजित गर्न सकुँला भन्ने उहाँले कल्पनासम्म गर्नुभएको थिएन । माघ महिनामा चारैतिर बाक्लो हुस्सु लागेका कारण नजीकैको वस्तु देख्न मुस्किल थियो । मुठभेडमा हात्ती हच्किएर ५० मिटर जति पर भागेपछि पदमबहादुरले लामो सास फेर्दै परालको माचमा छलिएर बँचेखुँचेको तागत निकाल्दै पूर्वैतिर घस्रिएर भागेको बताउनुभयो ।

“म जसोतसो पल्लो गाउँको छेउमा पुग्दा गाउँलेहरु मतिरै आउँदै गरेजस्तो लाग्यो । ‘श्रीमान्लाई हात्तीले मार्यो, बचाउ बचाउ’ भन्दै मेरी श्रीमतीले गाउँलेहरुलाई गुहारेर ल्याउँदै गरेको भेटेँ । जब मलाई उनीहरुले जिउँदै देखे, अनि त सबैजना छक्क परे ।” उहाँले त्यो रातको कथा सुनाउनुभयो । श्रीमती पवित्रा राई भने हात्तीले आफ्नो पतिलाई आक्रमण गरेर मारेको ठानी गुहार माग्दै पल्लो गाउँ पुग्नुभएको थियो ।

पदमबहादुर बस्ने भद्रपुर–१ मा विगत तीन वर्षमा तीनजनाले हात्तीको आक्रमणमा मृत्युवरण गरिसकेका छन् । मुठभेडमा बाँच्नेमा उहाँ एक्लो हुनुहुन्छ । प्रायस् हात्तीले मानिसमाथि आक्रमण गर्दा सुँढले बेरेर भुइँमा पछार्ने, बलिष्ठ खुट्टाले कुल्चिने र तीखो दाह्राले शरीरमा धस्ने गर्दछ । हात्तीले पदमबहादुरलाई आक्रमण गर्दा मार्नका लागि सक्दो प्रयास गरेको थियो ।

हात्तीको ज्यानमारा आक्रमणबाट बाँच्नुलाई अर्को जन्म ठान्नुभएको उहाँले त्यसपछिका रातहरु पनि ढुक्कले निदाउन सक्नुभएको छैन । हात्तीको आक्रमणमा उहाँको ढाड, खुट्टा र हातमा चोट लागेको थियो । अहिले पनि चोटहरु दुखिरहने उहाँले बताउनुभयो । उपचारका लागि एक दिन मेची अञ्चल अस्पतालमा बिताएपछि पदमबहादुर दम्पतीले १३ दिनसम्म घरमा दैलो लगाएर पल्लो गाउँका चन्द्रबहादुर सुब्बाको घरमा शरण लिएर रात बिताउनु पर्यो ।

मुठभेडमा बाँचेपछि एक दिन भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले फोन गरेर ‘पदम दाइ म भेट्न आउन सकिनँ, नयाँ जीवनको शुभकामना छ’ भन्नुभएको उहाँले सुनाउनुभयो । एक दिन बाँचे पनि हरेक दिन हात्ती गाउँ पस्ने गरेका कारण पदमबहादुरको मनमा त्यस्तै घटना फेरि दोहोरिने हो कि भन्ने चिन्ता बाँकी नै छ ।  

“घाइते भएको हात्ती बदला लिन फेरि आउँछ भनेर गाउँलेहरुले डर देखाउनु भएको छ । रातभरि निद्रा लाग्दैन । उहाँ ९पदमबहादुर० पनि राति हात्ती आएको सपना देखेर झस्किएर ब्युँझिने गर्नुहुन्छ” पदमबहादुरकी पत्नी पवित्रा राईले भन्नुभयो ।

हात्तीको आक्रमण फेरि नहोस् भनेर उहाँहरुले घरको पहिलो ढोकानेर गणेशको मूर्ति राखेर दैनिक पूजापाठ गर्न थाल्नुभएको छ । “हात्तीलाई मैले सुँढ र निधारमा हिर्काएर चोट लगाएको छु । त्यो चोटको बदला दिन नआउनुहोस् भन्दै गणेश भगवानसँग माफी माग्दै पाठपूजा गर्दैछु । गाउँलेहरुको सल्लाह मानेर यसो गरेको हुँ ”गणेशको मूर्ति राखेको स्थान देखाउँदै पदमबहादुरले भन्नुभयो ।

उहाँको घरसँगै सडक जोडिएको छ । सडकसँग जलथलको घना चारकोशे जङ्गल टाँसिएको छ । वरिपरिका सात घर हात्तीको त्रासले बसाई हिँडेर अन्यत्रै गएपछि अहिले पदमबहादुरको घर एक्लै भएको छ । अर्को जन्म पाएसरहका उहाँको अवस्था बुझ्न स्थानीय सरकार र सम्बद्ध निकायबाट आजसम्म कोही पुगेका छैनन् ।

पच्चीस वर्षदेखि बसोबास गर्दै आउनु भएको उहाँले सरकारबाट पुनर्वास परियोजनामार्फत् पाएको १५ कठ्ठा पाखो जग्गा छाडेर बसाई हिँड्न चाहनु भएको छैन । “बेचौं भने जग्गा कसैले किन्दैन, छाडेर जान मनले मान्दैन,” उहाँ भन्नुहुन्छ “लगाएको मकै, कोदो, धान र तोरी बाली पनि हात्तीले नै खाइदिन्छ । बाँच्न गाह्रो भएको छ हामीलाई” दिनभरि जङ्गलमा आराम गर्ने हात्तीले रात परेपछि गाउँमा पसेर बाली खाएर र कुल्चेर क्षति पुर्‍याउने गरेका छन् ।

घर माया मार्न नसकेपछि पदमबहादुरले हात्तीबाट बँच्न घर वरिपरि बिजुलीको तार टाँग्नु भएको छ । राति ८ बजेपछि त्यो तारमा बिजुलीको करेन्ट प्रवाह गरिन्छ । विहान ४ बजे मात्र करेन्ट बन्द गरिन्छ । उहाँले आफ्नो घर चारपटक हात्तीले भत्काउने प्रयास गरिसकेको बताउनुभयो । हात्तीको डरले साँझ परेपछि घरभित्र पसेर दैलो लगाउने गर्नुभएको उहाँले विहान उज्यालो भएपछि मात्र ढोका खोलेर बाहिर निस्कने गरेको बताउनुभयो ।

स्थानीयवासीका अनुसार चारकोशे जलथल जङ्गलमा तीनवटा हात्ती बस्दै आएका छन् । आहारको खोजीमा गाउँ पसेका बेला तिनले घर भत्काउने र मानिसमाथि हिंसात्मक आक्रमण गर्दै आएका छन् । सरकारले जङ्गल वरिपरि विद्युतीय तारबार गरेको छ । तर त्यसलाई छिचोलेर हात्ती गाउँसम्म सजिलै पुग्ने गरेका छन् । थुप्रै स्थानमा बिग्रिएका विद्युतीय तारबारको समयमै मर्मत सम्भार हुने गरेको छैन ।

एक दशकअघिसम्म झापाको उत्तरी क्षेत्रका बाहुनडाँगी, बुधवारे, मेचीनगर र खुदुनाबारीमा मात्र हात्तीको आक्रमण हुन्थ्यो । तर अचेल जिल्लाको दक्षिणी क्षेत्रका भद्रपुर, कचनकबल, हल्दिबारी र बाह्रदशी पालिकामा जङ्गली हात्तीको आक्रमण र त्यसबाट हुने क्षति बढिरहेको छ । मानवीय क्षति पनि बढेको बढ्यै छ ।

ग्यास्ट्रिक, प्रेसर, दम, प्रोस्टेटलगायतका विभिन्न रोगका बिरामी रहनुभएको पदमबहादुरको दम्पत्तिलाई रोग र भोकले भन्दा हात्तीको आक्रमणबाट अचानक मरिएला कि भन्ने त्रास सताएको छ । आफुसँग रहेको एउटा फगी लाइट हात्तीसँगको भिडन्तमा फुटेर बिग्रिएपछि उहाँसँग अहिले राति बाहिर हेर्ने उज्यालोको कुनै प्रबन्ध छैन । सरकारका कुनै निकायले पनि उहाँलाई हात्तीबाट बचाउन सहयोग गरेका छैनन् ।

पदमबहादुर हात्तीको जतिसुकै त्रास भए पनि थातथलो छाडेर नजाने बताउनुहुन्छ । उहाँको ३५ वर्षीय जेठो छोरा किशोर र ३० वर्षीय कान्छो छोरा मनकुमार छन् । जेठो छोरा ब्रेन ट्युमरको बिरामी भएपछि बुहारीले पनि छाडेर गइसकेको र उपचारमा रु १६ लाख खर्च भइसकेको उहाँले जानकारी दिनुभयो । दुवै छोरा वैदेशिक रोजगारीमा गएर फर्किए पनि सबै कमाई उपचारमै सकिएको उहाँले बताउनुभयो ।

सरकारले हात्तीले मानिसको मृत्यु हूँदा रु १० लाख राहत मृतकका परिवारलाई प्रदान गर्दै आएको छ । झापामा हात्तीको आक्रमण बन्द गर्ने भरपर्दो कुनै प्रबन्ध नहुँदा वर्षेनि मानिसको ज्यान जाने गरेको छ । जङ्गलमा घाँस काट्न जाँदा, बाटोमा हिँड्दामात्र होइन, घरमा राति सुतिरहेका बेलासमेत आक्रमण हुँदा हात्तीका कारण सर्वसाधारणको ज्यान जाने गरेको छ । मृत्युको मुखबाट फुत्किएर बाँचेका पदमबहादुर जस्ता नागरिकका लागि भने सरकारले अलिकति सहानुभूतिस्वरुप आर्थिक सहयोग पुर्याउनसमेत सकेन । चन्द्रकला भण्डारी/रासस