२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङबजारमा आगलागी हुँदा पैँतालिस खसीबाख्रा मरे, २२ लाखभन्दा बढीको क्षति



symbolic picture
अ+ अ-

खोटाङ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलागी हुँदा एउटा घर र दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर मरेका छन् । खोटाङबजारको पुरानो गाउँस्थित तुलसीराम चौलागाईंको गोठबाट गएराति सुरु भएको आगोले ढुङ्गामाटोबाट बनेको दुईतले एउटा घर, दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर नष्ट भएको छ ।

गएराति करिब ८:१५ बजे सुरु भएको आगो राति १२ बजेमात्र नियन्त्रणमा लिन सफल भएको खोटाङ बजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको दुईतले घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीमा घरसँगै रु दुई लाख, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएको पीडित चौलागाईंले बताउनुभयो । “गोठमा पालिएको ४५ वटा खसीबाख्रा पनि आगोमा परेर मरे । स्थानीयवासी र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भए”, उहाँले भन्नुभयो, “भैँसीको अर्को पाडोे जलेर मरेको छ । करिब एक सय ५० मुरी त अन्न मात्रै जलेको छ ।”

घर जलेर नष्ट भएपछि चौलागाईंको पाँचजनाको परिवार छिमेकीको घरमा बसिरहेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले बताउनुभयो । “अहिले उहाँहरु छिमेकीको घरमा बसिरहनुभएको छ । घरमा एक बच्चामात्र भएको बेला अर्कैले आगो लगाइदिएछ”, उहाँले भन्नुभयो, “बुबाआमा बेँसी खेतबाट काम गरेर घर आइनपुग्दै आगो लगाइएको रहेछ ।
गाउँकै सबैभन्दा राम्रो किसानको हालसम्मको मेहनत जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि दमकल पनि लगियो तर सकिएन । त्यो समय गाउँमा प्राय: छोरा मान्छे सबै एउटा सिँचाइ योजनाका लागि गएका रहेछन् ।”

पीडित परिवारलाई तत्काल र दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भनेर विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले बताउनुभयो । “गाउँपालिकाबाट कसरी सहयोग गर्न सकिन्छ भन्नेमा छलफल गर्दैछौँ”, उहाँले भन्नुभयो, “तत्काल कसरी उहाँहरुको व्यवस्थापन गर्ने र दीर्घकालीन समस्या कसरी समाधान गर्ने भनेर हामी छलफल गर्छौं । विपद्मा परेका पीडित परिवारलाई सहयोग गर्न सबैले हातेमालो गर्न गाउँबासीसँग अपिल गरेका छौँ ।”

आगलागीबाट चौलागाईं परिवारको रु २२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । उहाँको घर तथा गोठमा कोही व्यक्तिले आगो लगाइदिएको हुनसक्ने आशङ्कामा एकजनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो । रासस