• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

क्रान्तिको स्वरूप फेरिएको मात्र हो तर क्रान्तिमा छौ: प्रधानमन्त्री दाहाल



रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको स्वरुप फेरिएको बताउनु भएको छ ।

बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरु अझै क्रान्तिमै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ । हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’

कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह रहेको र त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको दाबी गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “मेरो भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लिएको छ ।’  भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई पक्षीय सम्झौता भएसँगै भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीले बताउनु भयो ।

कार्यक्रममा द्वन्द्व कालमा बेथानमा मारिएका तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारलाई सम्मानका साथै शहीद स्मारकको उद्घाटन गरिएको थियो ।