आइतबार बिहानसम्म पनि उनका लागि छोरा अस्पतालको आईसीयूमा उपचाररत नै थिए। कारण, घरपरिवार र आफन्तले छोराको निधन भएको खबर आमालाई भनेनन्। ललितपुरको बालकुमारीमा प्रहरीको निर्घात कुटपिटबाट महाबु गाउँपालिका–६ का सुजन रावतको गत शुक्रबार नै ज्यान गइसकेको थियो। तर, आमा नन्दा रावत कटुवाललाई छोरालाई आईसीयूमा राखेर उपचार भइरहेको भनिएको थियो।
आफन्त, छरछिमेकी, साथीभाइले आइतबार बिहानसम्म पनि छोराको उपचार भइरहेको छ भनेर सान्तवना दिइरहे। घरमा पुग्नेजत्तिले छोराको उपचार भइरहेको भनेपछि उनको मनमा छोरा बाँच्ने आशाको दियो निभेकै थिएन्। छोरा बाँच्ने आस बाँकी नै थियो। उनी घरमा कोही नयाँ मान्छे आउनेबित्तिकै सोध्ने गर्थिन् ‘मेरो बाबु (छोरा) आईसीयूमा छ र ? ढाटेका हौं कि साँचो हो भनिदेऊ न।’
शृंखलाबद्ध बिपति भोग्दै आएकी नन्दासामु कसैले वास्तविकता बताउन सकेनन्। नन्दाले एक वर्षअघि अर्थात् २०७९ मंसिर २ गते पति भक्तबहादुर रावतलाई गुमाइन्। उनको ब्रेन ट्युमरबाट निधन भएको थियो। पति वियोगमा रहेकी नन्दाले एक महिनापछि आमा गुमाएकी थिइन्। बुबा बितेपछि आमा नन्दा र भाइबहिनीको जिम्मेवारी जेठा छोरा सुजनको काँधमा आएको थियो। नन्दाका भाइ यामराज कटुवालले भान्जाको मृत्युको खबर सुनाउँदा दिदीलाई स्वास्थ्य समस्या हुने डरले भन्न नसकिएको बताए।
‘दिदी सुगर र प्रेसरको बिरामी हुनुहुन्छ, नियमित औषधि सेवन गर्नुहुन्छ, भान्जा सुजनको मृत्यु भयो भनेर भनिहाले दिदीलाई गाह्रो हुन्छ कि भन्ने डरले आइतबार बिहानसम्म आईसीयूमा राखेर उपचार भइरहेको छ भनेर भन्यौं,’ उनले भने। तीन दिनपछि आइतबार बिहान भान्जाको निधन भइसकेको खबर दिदीलाई दिएको यामराज बताउँछन्। ‘छोराको उपचार भइरहेको छभन्दा त उहाँको अवस्था निकै नाजुक थियो, मृत्यु भइसकेको भनेर थाहा पाएपछि सम्हाल्नै गाह्रो भइरहेको छ,’ यामराज भन्छन्। सुजनको आमा, बहिनी र भाइ बोल्नसक्ने अवस्थामा छैनन्। आफन्त र छरछिमेक सबै जम्मा भएर सान्त्वना दिइरहेका छन्।
‘बुबा बिरामी पर्दा धेरै ऋण लाग्यो, घरव्यवहार चलाउन गाह्रो भयो, बुबा बिरामी हुँदा लागेको ऋण तिर्न र घर खर्च जुटाउन कोरिया जान्छु भनेर गएका थियौं, कहाँ गयौं छोरा भन्दै रुनुहुन्छ, बर्बराउनुहुन्छ,’ यामराज भन्छन्, ‘भान्जालाई सडकमा यसरी गुमाउनुपर्दा हामीलाई त पीडा छ भने आमालाई कति पीडा भइरहेको होला भन्ने कल्पना नै गर्न सकिँदैन।’ अन्नपूर्ण पोस्ट