२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका किसान नगदेबालीतर्फ आकर्षित



अ+ अ-

चितवन । चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् ।

माडी नगरपालिका–३ का ओमप्रकाश महतो बिगत पाँच वर्षदेखि तोरीखेती गर्दै आउनुभएको छ । उहाँले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र आलुखेती गर्दै आउनुभएको थियो । महतोले अहिले आफ्नो १० कट्ठा र भाडामा लिएको १० कट्ठा जग्गामा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “जङ्गली जनावारले तोरीबालीलाई कम क्षति गर्ने भएकाले यसमा जोड दिएका हौँ ।”

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबाली क्षति गर्ने गर्दछन् । अहिले माडीमा तोरी टन्न फलेको छ । महतोले भन्नुभयो, “हाम्रो गाउँमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरी खेती गरिएको छ । तोरी छिटो पाक्ने तथा उचित मूल्य पनि पाइने भएकाले सबैले तोरीबाली लगाउने गरेका छन् ।”

यस्तै खैरहनी नगरपालिका–१२ का नवीनकुमार श्रेष्ठ विगत दुई वर्षदेखि तोरीखेती गर्दै आउनुभएको छ । उहाँले १६ कट्ठा जग्गामा तोरीखेती गर्दै आउनुभएको छ । पानी कम लाग्ने र जनावरले समेत असर कम गर्ने भएपछि तोरीखेती गर्न थालेको उहाँको भनाइ छ ।

श्रेष्ठले भन्नुभयो, “गहुँ र मुसुरो खेती ढिला पाक्छ, त्यसैले तोरी खेती गरेको हुँ ।” तोरी थन्काएपछि सोही बारीमा खर्बुजा खेती गर्ने योजनामा रहेको उहाँले सुनाउनुभयो । तोरीले मूल्य पनि राम्रो पाउने भएकाले यो खेती गरिएको भए पनि अहिले बजार सुस्त हुँदा मूल्य घट्छ कि भन्ने चिन्ता लाग्ने गरेको श्रेष्ठको भनाइ छ ।

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रफल गत वर्षको तुलनामा सात हजार ८५ हेक्टरले बढी हो । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत बृद्धि हुने उहाँको भनाइ छ ।

बर्खे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरी खेती गरिएको छ । तोरी बाली छिटो पाक्ने, चैते धान लगाउन सहज हुने नगदे बाली भएकाले किसानको ध्यान यस बालीतर्फ गएको योजना अधिकृत अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मुसुरो र गहुँ बालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ ।”

जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँ कतै मात्रै यी बाली लगाइएको पाइएको योजना अधिकृत अर्यालले बताउनुभयो । तेलहन बाली प्रवद्र्धनका लागि सरकारले समेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको उहाँको भनाइ छ । रासस