• २२ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 4 2024
  •   Unicode
Logo

बुटवल–गोरूसिंगे सडक आयोजनाले दुर्गति बेहोर्न नपरोस्– एमाले उपध्यक्ष पौडेल



काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–गोरूसिंगे सडक स्तरोन्नति कार्यले कुनै दुर्गति बेहोर्न नपरोस् भन्नुभएको छ ।

आज पूर्व पश्चिम राजमार्गको बुटवल–गोरूसिंगे सडक खण्ड डेडिकेटेड चारलेन (खास ठाउँमा आठलेन, छलेन, अण्डरपास र ओभरपास समेत) मा स्तरोन्नतिका लागि बोलपत्र आव्हान भएकामा खुशी व्यक्त गर्दै उक्त कार्य समयमै सम्पन्न हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले भन्नुभएको छ, “हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहीआएको छ ।

विश्वबैंकको ऋण लगानीमा सम्पन्न हुने यस आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस् ।” स्वस्थ एवं पारदर्शी प्रक्रियाद्वारा सक्षम निर्माण कम्पनी छनोट गरियोस् र छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गरोस् भन्दै उहाँले छनोट भएको कन्सल्ट्यान्ट कम्पनी एलइए एसोसिएट्स साउथ एसिया प्रालिले पनि निर्माण कार्यको प्रभावकारी परिक्षण र सहजीकरण गरोस् भन्नुभएको छ ।

त्यसैगरी गोरूसिङ्गेदेखि चन्द्रौटासम्मको १९ किलोमीटर सडकको डीटेल डिजाइन शिघ्र सम्पन्न गरी निर्माणकार्य आरम्भ गर्न माग गर्दै उहाँले बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल निर्माणकार्य पनि विलम्ब नगरी आरम्भ गर्न आग्रह गर्नुभएको छ । जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गल्ति÷कमजोरी हुँदा खबरदारी गरिने जानकारी गराउनुभएको छ ।