१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा
अ अ+ अ-

भरतपुर (चितवन): पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका ।

अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन् । विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवा खाजासमेत रोकिँदा विद्यायल आउनै छाडेका छन् ।

कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्ने गर्नुभएको छ । उहाँको पोशाक पनि थोत्रिइसकेको छ । बुवाआमासँग पैसा नहुँदा सधैँ खाली खुट्टा विद्यालय आउनुपरेको उहाँले सुनाउनुभयो । “चप्पल, जुत्ता लगाउने मन त छ नि”, उहाँले भन्नुभयो, “बुवाआमासँग पैसा छैन, कहाँबाट चप्पल लगाउन पाउनु ।” उहाँले धेरै पढ्ने मन हुँदाहुँदै पनि घरको अवस्थाले सोचेअनुसार पढ्न नसकेको बताउनुभयो ।

कक्षा ३ मै पढ्ने उर्मिला चेपाङ कक्षाकोठामा दुई वर्षको भाइलाई काखमा राखेर पढिरहनुभएको छ । उहाँको ध्यान पढाइमा भन्दा भाइतिर बढी छ । घरी किताब त घरी काखमा निदाइरहेको भाइको मुखमा हेर्दै पढिरहनुभएको छ उहाँ । बाआमा काममा गएकाले घरमा हेर्ने कोही नभएपछि भाइलाई पनि विद्यालय बोकेर आएको उहाँले बताउनुभयो । उहाँका दाइ र बहिनी पनि यसै स्कुलमा अध्ययनरत छन् । तीनैजना अध्ययन गर्ने एउटै कोठा र बेञ्च पनि एउटै छ । घरमा भात नपाक्दा चारैजना भोको पेटमै विद्यालय आएको उर्मिलाले सुनाउनुभयो ।

कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ । विद्यालय पोशाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन् । कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन । यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ । शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन् ।

यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी भएका छन् । तर नियमित विद्यालय आउनेको सङ्ख्या भने १५ देखि २५ जनासम्म हुने शिक्षक रामलाल चेपाङले बताउनुभयो । विद्यालयमा उहाँमात्रै एक जना शिक्षक हुनुहुन्छ । उहाँले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ ।

नान्दरमा पढ्नेहरूका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ । जिङ्लाउका विद्यार्थी दिवा खाजाबाट बञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन् ।

विद्यालयका प्रधानाध्यापक खुमराज भट्ट भने दिवा खाजा नरोकिएको दाबी गर्नुभयो । दुईतिरै निगरानी गरिरहेको जनाउँदै उहाँले अहिलेसम्म दिवा खाजा नरोकिएको बताउनुभयो । “अभिभावकलाई खाजाको व्यवस्था गर्नु, सरकारी पैसा विद्यालयको खातामा जम्मा भएको छ । पछि विद्यार्थीको हाजिरी हेरेर पैसा दिन्छु भनेको छु”, उहाँले भन्नुभयो । तर शिक्षक चेपाङ भने विद्यार्थीलाई खाजा खुवाउन सक्ने क्षमता यहाँका कुनै पनि अभिभावकसँग नहुँदा खाजा दिनुको विकल्प नभएको बताउनुभयो । दिवा खाजाको प्रबन्ध नहुँदा त्यसको असर विद्यार्थीमा परेको उहाँको भनाइ छ ।

स्थानीय गोपाल चेपाङले झण्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताउनुभयो । उहाँले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट पनि यहाँका बालबालिका बञ्चित हुनुपरेको गुनासो गर्नुभयो ।

कालिका –१० वडाध्यक्ष नरजङ्ग प्रजाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई निर्देशन दिइसकेको जनाउँदै बालबालिकाको खाजा कार्यक्रम नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “चेपाङ बालबालिकाको खाजा रोक्ने अधिकार कसैलाई पनि छैन, विद्यालयमा कमी–कमजोरी भएको भए कारबाही हुन्छ ।”

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जिङ्लाउको समस्याबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । दिवा खाजाको विषयमा के कारणले रोकिएको हो भन्ने पत्ता लगाएर तत्काल सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले पालिकामा ‘उपमेयरसँग बालबालिका’ शीर्षकको कार्यक्रम लागू भइरहेको जनाउँदै बेला–बेलामा शैक्षिक सामग्री वितरण गरिरहेको जानकारी दिनुभयो ।रासस