१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

दुर्गम गाउँका नागरिकको पीडा: जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

दुर्गम गाउँका नागरिकको पीडा: जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता
अ अ+ अ-

ढोरपाटन (बागलुङ) । बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो । तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति हुनसकेको छैन । दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । यहाँबाट पालिकाको केन्द्र गलकोट हटिया आउन दुई घण्टा लाग्छ भने जिल्ला सदरमुकाम आइपुग्न गाडीमा पाँच घण्टा पूरा लाग्छ ।

पाण्डबखानीभन्दा १४ किलोमिटर पश्चिम पर्छ रमुवा गाउँ । गलकोट नगरपालिका–१० मै पर्ने रमुवा गाउँ मोटरबाटोले जोडिएको धेरै भएको छैन । रमुवाबाट पालिका केन्द्र करिब ३५ किलोमिटर पूर्वपर्छ । यहाँबाट पालिकाको केन्द्र हटिया आउन पाँच घण्टा लाग्छ भने जिल्ला सदरमुकाम पुग्न आठ घण्टा बढीको यात्रा गर्नुपर्छ । कच्ची र अव्यवस्थित सडकका कारण पाण्डवखानी र रमुवाका हजारौँ नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् ।

वर्षौदेखि हिँडेर पाण्डवखानीसम्म आई गाडीमा यात्रा गर्ने रमुवावासी अहिले गाउँमै गाडी गुड्न थालेपछि हर्षित छन् । डेढदशक अगाडिनै मोटरबाटोले जोडिएको पाण्डवखानी अहिलेसम्म स्तरोन्नति नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रा असहज हुने गरेको छ । स्थानीयवासीले सडकको स्तरोन्नतिको माग गर्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो छ । गत वर्षदेखि उक्त सडक एक निर्वाचन क्षेत्र, एक रणनीतिक आयोजनाका रुपमा परेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा केन्द्र सरकारले ४० करोड बजेट विनियोजन गरेको थियो । ठेक्का सम्झौता भएर गत वर्षदेखि काम सुरु भए पनि अहिले भने निर्माण कम्पनीले काम गरेको छैन । यही सडक भएर पाण्डवखानी क्षेत्रमा करिब आधा दर्जन जीप तथा पिकअप सञ्चालन हुन्छन् । सडकको दुरवस्थाका कारण स्थानीयवासी जोखिम मोलेरै यात्रा गरिरहेका छन् । गाउँमा सीमित सवारी साधान चल्ने हुँदा स्थानीय जोखिम मोल्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्व वडाध्यक्ष तिलक घर्ती मगरले बताउनुभयो ।

डेढदशक अगाडि नागरिकको सुविधाको लागि सडक खुले पनि स्तरोन्नतिमा सरोकारवाला निकायको ध्यान नपुगेको उहाँले गुनासो गर्नुभयो । सडक अप्ठ्यारो हुँदा सहज र समयमै गन्तव्यमा पुग्न नसकिने घर्ती मगर बताउनुहुन्छ । “यो गाउँ पालिकाको केन्द्रदेखि धेरै टाढा छ, सडक राम्रो हुन्थ्यो भने यात्रा गर्न सहज हुन्थ्यो, यतिका वर्षसम्म पनि सडकको हालत खराब छ, नगरपालिकामा सामान्य काम गर्न आउँदा पनि दिनभरी यात्रा गर्नुपर्ने स्थिति छ, जिल्ला सदरमुकाम पगेर फर्कन त झनै कठिन छ,” घर्ती मगरले भन्नुभयो– “एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक भनेर योजना परे पनि प्रभावकारी रुपमा काम हुनसकेको छैन, सडक निकै अप्ठ्यारो हुँदा गाउँमा कोही बिरामी परे तत्काल अस्पताल पुर्‍याउन बढी समस्या हुने गरेको छ, एम्बुलेन्स आए पनि सडकको खाल्डाखुल्डीका कारण समयमै पुग्न पनि समस्या हुन्छ ।”

स्थानीय सुरेश छन्त्यालले पाण्डवखानी तथा रमुवा क्षेत्रको मुख्य व्यापारिक केन्द्र गलकोटको हटिया र जिल्ला सदरमुकाम बागलुङ बजार भएको भन्दै सडकको स्थिति खराब हुँदा ढुवानीमा समस्या हुने गरेको बताउनुभयो ।

हिउँदमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा निकै समस्या हुने छन्त्यालको भनाइ छ । सडक स्तरोन्नति भएको भए उपभोक्ता महँगीको मारमा नपर्ने भन्दै अहिले ढुवानीनै महँगो तिर्नु परेको उहाँले बताउनुभयो । गाउँमा उत्पादन हुने कृषि उपज वस्तु बजार पुर्‍याउन पनि साह्रै समस्या भएको छन्त्याल बताउनुहुन्छ । उहाँले भन्नुभयो– “दुर्गम गाउँ भए पनि धेरै वर्ष अगाडि यहाँ सडक आएको थियो, सडकले हामीलाई धेरै राहत दियो तर अहिलेसम्म स्तरोन्नति हुन नसक्दा धेरै दु:ख पनि पाइएको छ, हामीले सरकारलाई धेरै पटक यो सडक बनाउनका लागि माग गर्‍यौँ तर अहिलेसम्म सुनुवाइनै भएन, बजार गएर आउन एक दिन पूरै लाग्छ, सामान ढुवानीमा उस्तै समस्या, भाडा पनि महँगो तिर्नुपर्ने अवस्था छ, बाटो सजिलो हुन्थ्यो भने यात्रा गर्न र सामान ढुवानीमा सुविधा हुने थियो ।”
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले नगरपालिकाले दुई वर्ष अगाडिसम्म मर्मत सम्भारका काम गर्ने गरेको भन्दै अहिले एक निर्वाचन, एक रणनीतिक सडकको आयोजना सञ्चालनमा आएपछि नगरपालिकाले काम नगरेको बताउनुभयो । सडकका कारण वडा नं १० का नागरिकले वर्षौँदेखि समस्या भोग्दै आएको उहाँको भनाइ छ । नगरपालिकाको सबैभन्दा टाढाको वडा पाण्डवखानी र रमुवा भएको हुँदा नगरपालिकाले सुरुमा प्राथमिकतामा राखेर काम गरेको भन्दै अहिले सडकमा कम लगानी गरेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

“नगरपालिकाले सुरु–सुरुमा सडकमा लगानी गरेको थियो, जब केन्द्र सरकारले यहाँ लगानी गर्‍यो त्यसपछि नगरपालिकाबाट बजेट पर्न छोडेको छ, दोहोरो बजेटपर्ने हुँदा यो सडकमा हामीहरुले काम गरेका छैनौँ” प्रवक्ता भण्डारीले भन्नुभयो–“निर्माण कम्पनीलाई काम गर्ने वातावरण मिलाई दिने र समयमै काम सक्न खबरदारी गर्ने गरिरहेका छौँ, यो बाहेक पाण्डवखानी र रमुवाका अन्य ठाउँमा भने सडक निर्माण भने गरिरहेका छौँ, सडकलाई बाह्रैमहिना सञ्चालन हुने गरी काम गरेका छौँ ।” रासस