• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

सोलुखुम्बुमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ सुरु



सिलगुढी । पर्यटकीय जिल्ला सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ ।

गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल ९टान०को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ गन्तव्यको रूपमा सुरुआत गरिएको हो ।

माप्य दूधकोशी–५, सिलगुढी डाँडामा आज आयोजित एक समारोहमा कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरि बाँस्तोलाले संयुक्तरूपमा उक्त पदमार्गको शुभारम्भ गर्नुभयो ।

नयाँ निर्माण गरिएको पदमार्ग चार रात पाँच दिनको हुने माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिनुभयो । सिलगुढीबाट, घुम्नेमेरा, कुधम, योतेलमा, राप्छा, माझगाउँ, खास्ताव, भुमेथान, पास्दा झरना, महभिरलगायतका स्थानमा पदयात्रा गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य राजभण्डारीले देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो । “सगरमाथा क्षेत्र घुम्न आएका पर्यटकलाई यहाँ भित्र्याउन सके यस क्षेत्रको पर्यटनले गति लिन सक्थ्यो”, उहाँले भन्नुभयो ।

टानका अध्यक्ष बाँस्तोलाले विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्लामा नयाँ पदमार्ग निर्माण गर्न पाउँदा आफूलाई ज्यादै हर्ष लागेको बताउनुभयो । “सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक १० लाख पर्यटक भित्र्याउन नसक्नु दु:खद् कुरा हो”, उहाँले भन्नुभयो ।

सरकारलाई आज नेपालमा कति ट्रेकिङ गाइड छन् भन्ने कुरासमेत थाहा नहुँदा पर्यटन व्यवसायी मारमा परेका बाँस्तोलाको भनाइ थियो । टानले प्रादेशिक कार्यालय खोलेर अगाडि बढ्न चाहेको उहाँले बताउनुभयो । अध्यक्ष बाँस्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

पदमार्ग निर्माण संयोजक तथा पर्यटन व्यवसायी चोलेन्द्रबहादुर कार्कीले यो नयाँ गन्तव्य भएकाले यसको प्रचारप्रसार र प्रवर्द्धनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय माप्य दूधकोशी गाउँपालिकाको पर्यटन प्रवर्द्धन तथा विकासका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइएको भन्दै यसलाई थप प्रभावकारीरूपमा अघि बढाउँदै लैजाने गाउँकार्यपालिका सदस्य प्रकाश खालिङले बताउनुभयो ।

विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले पर्यटकलाई लुकेर रहेका प्राकृतिक तथा ऐतिहासिक कुराहरु देखाउन सके पर्यटन क्षेत्रको विकास सहजरूपमा गर्न सकिने बताउनुभयो । नयाँ पदमार्गबाट दूधकुण्ड हिमाल, सगरमाथा, मेरापिक क्षेत्रमा समेत जान सकिने स्थानीय पर्यटन व्यवसायी मानवीर खालिङले बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), २८ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विश्व कीर्तिमान आरोही शेर्पा, माउण्टेन गाइड एशोसिएसन अफ नेपाललाई सम्मान गरिएको थियो ।रासस