एजेन्सी । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढेपछि छिमेकी राष्ट्र भारतको महाराष्ट्र राज्यमा आज (आइतबार)देखि रात्रीकालिन कर्फ्यू घोषणा गरिएको छ ।
भारतको मुख्य शहरमध्येको एक मानिने मुम्बईमा बितेको २४ घण्टामा हालसम्मकै धेरै ६ हजार एकसय २३ संक्रमित भेटिएपछि यस्तो निर्णय गरिएको हो । कम्तिमा अप्रिल १५ सम्म जारी रहने यो नियम रातको ८ बजेदेखि बिहानको ७ बजेसम्म लागू हुनेछ ।
उक्त समयमा बगैंचा, समुन्द्रि किनारलगायतका सर्वजनिक स्थलमा पाँच जनाभन्दा बढी मानिस भेला हुन समेत रोक लगाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यो नियम होटल, पब, रेष्टुरेन्ट, सिनेमा हल र सपिङ मलमा समेत लागू हुने बताइएको छ भने नियम उल्लंघन गर्नेलाई १००० भारतीय रुपैयाँ जरिवाना गरिने समाचारमा जनाइएको छ ।भारतमा हिजो (शनिबार) मात्र ६२ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको थियो । दैनिक संक्रमितको यो संख्या नोभेम्बरयताकै धेरै रहेको छ ।
अनुदान र व्यापारिक हिसाबले हालसम्म ७७ देशमा ६ करोड १० लाख डोज खोप निर्यात गरेको भारतमा हालसम्म कुल जनसंख्याको ४ प्रतिशत ले मात्र खोप प्राप्त गरेको बताइएको छ ।