• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

को को पुरस्कृत हुदैछन् त्रिविको दीक्षान्तमा



काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । स्नातकोत्तर तहतर्फ चार जना उत्कृष्ट विद्यार्थीले दुई/दुई र स्नातक तहतर्फ एक जना उत्कृष्ट विद्यार्थीले दुई पदक तथा पुरस्कार पाउनुभएको छ ।

कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार समारोहमा एक विद्यार्थीले तीन पदक तथा पुरस्कार प्राप्त गर्नुभएको छ । मानविकी सङ्काय स्नातकोत्तर तहतर्फ अर्थशास्त्र विषयमा सर्वप्रथम हुने कपिल पौडेलले तीन पदक तथा पुरस्कार पाउनुभएको हो ।

विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अर्थशास्त्र केन्द्रीय विभागका पौडेलले ३ दशमलव ७७ सिजिपीए ल्याउँदै तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउनुभएको छ ।

यस्तै स्नातकोत्तर तह अङ्गे्रजी साहित्यमा ३ दशमलव ८५ सिजिपिए ल्याउँदै सारा मर्हजनले पनि दीक्षान्त पदक र पुरस्कार दुई पदक पाउनुभएको छ । उहाँले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्ण पदक पाउनुभएको छ ।

यस्तै बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पनि दुई पदक पाउनुभएको छ । व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह (एमविएस)मा ३ दशमलव ८७ सिजिपिए ल्याउँदै उहाँले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाउनुभएको छ ।

यसैगरी विश्वविद्यालय क्याम्पस कीर्तिपुरकी शिक्षा शास्त्र सङ्कायकी शर्मिला रिजाल र सोही क्याम्पसका मानविकी सङ्काय राजनीति शास्त्रका अभिनव आचार्यले पनि दुई/दुई वटा पुरस्कार पाउनुभएको छ । एमएडमा गणित विषय लिई सर्वप्रथम हुनुभएका रिजालले हिमांशु दाहाल स्मृति नगर पुरस्कार र शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार पाउनुभएको हो । यस्तै एमए राजनीतिशास्त्र विषयमा सर्वप्रथम हुनुभएका आचार्यले ललितचन्द पुरस्कार र वडाकाजी मरिचमानसिंह पदक पाउनुभएको छ ।

भाइस च्यान्सलर पदक गैरेलाई

यसैगरी २०७८ सालको स्नातक तहतर्फको सात वटा दीक्षान्त पदक र पुरस्कारमध्ये दुईवटा पुरस्कार एकै जनाले पाउनुभएको छ । स्नातक तहको भाइस च्यान्सलर पदक यसपटक स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने पक्लिहवा क्याम्पस पक्लिहवा भैरहवाकी अस्मिता गैरेले पाउनुभएको छ । उहाँले ८८ दशमलव २२ प्रतिशत अङ्क ल्याउनुभएको थियो । भाइस च्यान्सलर पदक एक तोला सुन र प्रमाणपत्र हुने गर्दछ ।

मानविकी सङ्कायअन्तर्गत स्नातक तहमा सर्वप्रथम हुनुभएका हेराल्ड इन्टरनेशनल कलेज वसुन्धराकी अस्मिता घिमिरेले पिपल्स क्याम्पस तीर्थरत्न बज्राचार्य पदक र ज्ञानप्रसाद पुरस्कार पाउनुभएको छ । त्रिविले दीक्षान्त समारोहमा एमफिलतर्फ एक वटा, स्नातकोत्तर तहमा १९ वटा र स्नातक तहतर्फ सात वटा पदक तथा पुरस्कार वितरण गर्न थालेको हो ।

कुलपति पदक’ वितरण नगर्ने

यस्तै त्रिविले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणालीअनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्टाउन नसकिएकाले प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको कुलपति पदक वितरण नगर्ने जानकारी दिनुभयो ।

कुलपति पदक नौवटै सङ्कायमा सबभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइरहेको थियो । कुलपति पदक तीन तोला सुन र प्रमाणपत्र हुने गर्दथ्यो । ४९ औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा आगामी पुस २ गते हुने भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।रासस