२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने



अ+ अ-
भक्तपुर । नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ ।
तरुण दलले आज भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्पले क्षति पुर्याएका जिल्लामा अस्थायी आवास निर्माण अभियान सुरु गर्ने बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “भूकम्पबाट आफ्नो बास गुमाएका पीडितको बस्ने बासको व्यवस्था गर्न हामी पुस १ गतेदेखि अस्थायी आवास निर्माण अभियान सुरु गर्दैछौँ, जाजरकोट र पश्चिम नेपालका जिल्लामा तरुण दलका दस्ताले ८० देखि एक सय वटासम्म अस्थायी टहरा निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्नेछ, देशभरका तरुणको सहयोगको साथ ६० जनाको टोली त्यस क्षेत्रमा खटिनेछ ।”
भूकम्प गएपछि तरुण दलले ती क्षेत्रमा न्यानो कपडा र खाद्यान्नका सामग्री वितरण गरिसकेको जानकारी दिँदै  अध्यक्ष गुरुङले अब अस्थायी आवास निर्माण गर्ने अभियान सुरु गर्ने भएको बताउनुभयो । देशभरका वडा, पालिका, नगर, जिल्ला, प्रदेश र केन्द्रका तरुणबाट स्वतस्फूर्तरुपमा सङ्कलन भएको रकमबाट यो अभियान सञ्चालन गरेर अस्थायी आवास निर्माण एवं सामाजिक दायित्वमा देशभरका तरुणको भावना जोड्न लागेको बताउँदै उहाँले अस्थायी आवास निर्माणका लागि बाह्य सहयोग नलिई तरुण दलको आन्तरिक व्यवस्थापनबाटै अभियान सम्पन्न गर्ने बताउनुभयो ।
पार्टीले जिम्मा दिए थप अस्थायी आवास बनाएर फर्कने बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “कांग्रेस केन्द्रीय कमिटीले त्यस क्षेत्रमा एक हजार वटा अस्थायी टहरा बनाउने भएको छ । पार्टी केन्द्रीय कमिटीसँग हामी जाजरकोटबाटै सम्पर्कमा रहनेछौँ, तरुण दलको अभियान सम्पन्न भएपछि पार्टीले व्यवस्थापनसहित जिम्मेवारी दिए, पार्टीको निर्देशनमा थप अस्थायी आवास बनाउने छौँ ।”
पुस १ गतेदेखिको अभियानका लागि तरुण दलले काठमाडौँबाट २५ जना, कर्णालीबाट २० जनाको डकर्मी टोली र अन्य जिल्लाबाट सहभागि हुने तरुणसहित ६० जना अस्थायी टहरा निर्माणमा खटिने उहाँले बताउनुभयो ।
भूकम्पका कारण त्यस क्षेत्रका हजारौँ नागरिक चिसोमा आवास बिहिन हुन पुगेको दुःखद् अवस्था र त्यहाँका वृद्धवृद्धा, बालबालिका, गर्भवतीमा थप समस्या परेको बेलामा नेपाल तरुण दलले अस्थायी आवास निर्माण गरेर राजनीतिमा मात्रै नभई मानव सेवामा पनि तरुण दल अग्रसर हुन्छ भन्ने सन्देश प्रवाह गर्ने भएको उहाँले बताउनुभयो ।
केन्द्रीय बैठकमा पदाधिकारीलगायत केन्द्रीय सदस्यले विभिन्न राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै भूकम्पपीडित क्षेत्रमा अस्थायी टहरा निर्माणको सवालमा पारदर्शीरुपमा अगाडि बढ्ने र सामाजिक दायित्वलाई निरन्तरता दिने निर्णय गरेको छ । रासस