• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

मनाङको तापक्रम माइनस १६, मनाङ्बासी बेँसी झरे, पशु र घर कुर्न कोही गाउँमै- फोटो फिचर



मनाङ: जाडो बढेसँगै हिमाली जिल्ला मनाङको दैनिक तापक्रम घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री झरेको छ । बिहानी पखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातीमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउदै गएको उहाँले बताउनुभयो । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उहाँले बताउनुभयो ।

प्रजिअ लामिछानेले भन्नुभयो, “चिसोले धारोमा पानी आउनै छाडेको छ । खोलानालामा पानी जम्दै गएका छन् । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।” चिसो पनि उसै गरी बढ्दै गएको उहाँले बताउनुभयो । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका कार्य ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारणले सिमेन्टसँग सम्बन्धित निर्माण कार्यको सेटिङ र हार्डिङ प्रक्रियामा समस्या हुने भएकाले यससम्बन्धि काम बन्द गर्न सूचना जारी गरिएको बताउनुभयो ।

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरा लगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भन्नुभयो, “चिसो अत्याधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौं । अन्य कार्यालयसम्बन्धि कामलाई प्राथमिकता दिएर नै काम गरिरहेका छौं ।”

त्यस्तै चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका प्रमुख ढक बहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताउनुभयो । सिजनमा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आगमन भइरहेको छ । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” पर्यटकको आगमन भइरहेकाले माथिल्लो क्षेत्रमा रहेका होटल व्यावसायी पूर्ण रुपमा बन्द नभएको भुजेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार यहाँ आउने पर्यटकलाई बसोबासका लागि होटल सञ्चालन भइरहेका छन् ।

पर्यटकलाई मौसमसम्बन्धि जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिदै आएको उहाँले बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका छन् । तर, हामी घर कुर्ने र याकचौरी हेर्न यहीँ बसेका बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोमा माउ चौरी र युवा अवस्थाका याकलाई खुवाउन बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउनै मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैं खोज्न सक्छन् । बच्चाले सक्दैनन् । जाडोमा यिनीहरुलाई ध्यान दिनुपर्छ ।”

“लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ । खान नपाई दुब्लाएर मर्ने गर्छ । जाडो भइरहेका बेला बच्चालाई भने गोठ बनाएर राखिन्छ । हिउँ बढी परे पनि ठूला भएका पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुँदा दुध पनि कम हुने हुँदा बच्चालाई मात्र ठिक्क हुन्छ । हामीले यो समयमा दुध दुहुदैनौं”, उहाँले भन्नुभयो, “लेकका खर्कबाट गाउँघर नजिक याकचौरी ल्याइन्छ । नावर पनि याकचौरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाय नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउनकै लागि हामी यहाँ बस्नुपर्ने भएको हो ।”

यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । जसले गर्दा बेसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिनुभयो । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय फर्कन थाल्दछन् ।

नवीन लामिछाने/ रासस