• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा: आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदै



सुर्खेत । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदै छ ।

आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुने र आजको यात्रा ७१ किलोमिटर मात्र रहेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। आइतबार अछामको मङ्गलसेनदेखि दैलेख बजारसम्म १ सय ५४ किलोमिटरको यात्रा तय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, आज बिहान दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरूसँग सामूहिक भेटघाट रहेको प्रमुख गौतमले बताउनुभयो। आज दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन स्थलको अवलोकन, नाभिस्थान र शिरस्थानको अवलोकन तथा स्थानीयबासीन्दासँग छलफलको कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो। चुप्रा डुंगेश्वर र माथिल्लो डुंगेश्वरमा पनि जनतासँग भेटघाट कार्यक्रम राखिएको गौतमले जानकारी दिनुभयो ।

यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीले दैलेखकै गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने र सोही स्थानमा यात्रा टोलीले खाना खाने कार्यक्रम छ । त्यसपछि टोली सुर्खेत प्रवेश गर्नेछ । सुर्खेतको वीरेन्द्रनगरबाट करिब २० किलोमिटर उत्तरी क्षेत्रबाट सुर्खेतले यात्रा टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

वीरेन्द्रनगरमा आज दिउँसो ३:०० बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रसिद्ध पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । काँक्रेविहारमा थारु संस्कृतिको प्रदर्शन गर्ने पनि तयारी छ ।

प्रमुख ढकालका अनुसार सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी, व्यापारी, बुद्धिजीवीहरूसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ । साँझ ६:३० देखि ७:३० सम्मको एक घण्टा भेटघाटको समय तय गरिएको छ । त्यसपछि वीरेन्द्रनगरका प्रमुख, उपप्रमुखसहित कार्यपालिकाका सदस्यहरूसँग भेटघाट तथा छलफलको कार्यक्रम राखिएको एमालेले जनाएको छ ।