२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रका पत्रकारको ज्ञापनपत्र



अ+ अ-

रुकुम पश्चिम । भूकम्पप्रभावित क्षेत्रका सञ्चारकर्मी, सञ्चारमाध्यम र दूरसञ्चारको अवस्था निरीक्षणका लागि रुकुम पश्चिम आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष यहाँका पत्रकारले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिम शाखाले यहाँका पत्रकारका लागि आवश्यक सहयोग माग गरी सो ज्ञापानपत्र बुझाएको हो । कोरोना महामारीको चपेटामा परेको सञ्चार क्षेत्र भूकम्पको थप विपद्मा परेकाले यसको सामना गर्नका लागि सरकारका तर्फबाट सहयोग आवश्यक रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

शाखाका लक्ष्मण अध्यक्ष केसीका अनुसार मन्त्री शर्मासँग भूकम्पबाट क्षति पुगेका सञ्चारमाध्यामको भवन निर्माण र उपकरण खरिदमा सहयोग गर्न र भूकम्पप्रभावित पत्रकारहरुलाई सहुलियत दरमा उपकरण खरिदको व्यवस्था गरिदिन माग गरिएको छ ।

त्यसैगरी, भूकम्पप्रभावित क्षेत्रका सञ्चारमाध्यामहरुको नवीकरणमा लाग्ने शुल्क छुट गरिदिन र सूचना विभागद्वारा यस क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्ने व्यवस्थाका लागि महासङ्घले माग गरेको छ ।

महासङ्घ रुकुमपश्चिम शाखाले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तथा सञ्चारमाध्यमको सबलीकरणका लागि विशेष प्याकेजको माग गरेको छभने प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई इन्टरनेट र विद्युत् सेवा निःशुल्क गरिदिने व्यवस्थाका लागि पनि माग गरेको छ ।

प्रभावित पत्रकारहरुका लागि मनोसामाजिक सेवा लक्षित कार्यक्रम, फेलोसिप लक्षित कार्यक्रम, पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमाको निरन्तरता, जिल्लाका विज्ञापनहरु स्थानीयस्तरका मिडियालाई नै दिनुपर्ने नीतिगत व्यवस्थाको माग पनि सो ज्ञापनपत्रमार्फत गरिएको छ ।

जिल्ला शाखा अध्यक्ष केसीले पत्रकारहरुको न्यूनतम पारिश्रमिक राज्यले कडाइका साथ लागू गर्नुपर्ने र अनलाइन मिडियाहरुको उचित व्यवस्थापन तथा लोककल्याणकारी विज्ञापनका लागि पहल गरिदिन माग गरेको जानकारी दिनुभयो ।

यस जिल्लामा आठवटा रेडियो, दुईवटा साप्ताहिक र एक मासिक पत्रिका तथा चारवटा अनलाइन मिडिया सञ्चालनमा रहेका छन् । यहाँ भूकम्पका कारण ३० जना पत्रकार प्रभावित भएका र एक रेडियो पूर्ण रुपमा क्षति भएको अध्यक्ष केसीले जानकारी गराउनुभएको छ ।

मन्त्री शर्माले ज्ञापनपत्र बुझ्दै सबै माग सकारात्मक रहेकाले यी माग पूरा गर्न आफूले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस