• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ?

कठिन जीवनयापनलाई सहज बनाउने छौँ: चिरीबाबु महर्जन



file photo

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित र्‍यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताउनुभयो ।

“हरेक वर्षको डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रुपमा मनाउने गरिन्छ । हामीले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही न केही नयाँ काम गर्दै आइरहेका छौँ । यस वर्ष विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराउने कार्यक्रम राखेका हौँ”, प्रमुख महर्जनले भन्नुभयो । उहाँले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताउनुभयो ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि सीप विकास र जीवनयापनका लागि शिक्षाको व्यवस्थापन महानगरले गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्नका लागि सहजीकरण र समन्वयका माध्यमबाट तीनै तहको सरकारलाई आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रेरित गर्ने बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिको जिल्ला संयोजक भोजराज श्रेष्ठले नेपालमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको ३२ वर्ष भएको स्मरण गर्नुहुँदै सङ्घीय सरकारले भत्ताबाहेक अरु सुविधा नदिएको गुनासो व्यक्त गर्नुभयो । उहाँले अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि अरु सेवासुविधा उपलब्ध गराउने गरी आवश्यक नीति तथा योजना बनाएर दैनिक जीवनयापनमा सहज बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले अपाङ्गताका सवालमा ललितपुर महानगर धेरै अगाडि बढेको भन्दै भए गरेका कामको प्रशंसासमेत गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नीतिनिर्माण तहदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिको नेतृत्व स्थापित नभएसम्म विकासले सार्थकता नपाउने भन्दै यसका लागि सबैले हातेमालो गरेर लाग्नुपर्ने धारणा राख्नुभयो ।

महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर हरेक हिसाबले अपाङ्गता मैत्री महानगर हुन लागि रहेको बताउँदै अपाङ्गतामैत्री भौतिक संरचना बनाउने महानगरको नीति रहेको र अपाङ्गताका सवालमा केन्द्रित रहेर महानगरले सचेतना अभियान पनि चलाउने धारणा राख्नुभयो । उहाँले प्रकृतिबाट पछि पारिएका व्यक्तिहरुलाई आदार, सम्मान र माया गर्न सिक्नुपर्ने बताउनुभयो ।

विसं २०७८ को जनगणनाअनुसार नेपालमा अपाङ्गता भएकाको जनसङ्ख्या दुई दशमलव आठ प्रतिशत र ललितपुर महानगरपालिकामा एक दशमलव छ प्रतिशत रहेको ललितपुर महानगरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी अधिकृत शोभ खरेलले जानकारी दिनुभयो ।

सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन, समावेशीकरण, सशक्तीकरण र अपाङ्गताका विविध सवालमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ बाट मनाउन थालिएको हो । यस वर्ष ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ । रासस