• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला



भोजपुर । सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् । वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक तालिम लिएसँगै अहिले सिलाई कटाइको काम गर्दै आएको स्थानीयवासी चन्द्रकला राईले बताउनुभयो । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । सिलाइकटाइ व्यवसायबाट घर खर्चको जोह गर्न सहजता भएको उहाँले बताउनुभयो ।

“वडामा नै सीप पाएपछि अहिले यही व्यवसाय सञ्चालन गरेकी छु”उहाँले भन्नुभयो,“हामी जस्ता गृहणी महिलालाई अन्य ठाउँमा गएर सीप लिन समस्या हुन्छ । आफ्नै ठाउँमा वडाको पहलमा सीप पाएसँगै यही सिलाइकटाइ व्यवसाय गर्दै आएकी छु । यसले मलाई आत्मनिर्भर बनाएको छ ।”सीप लिएपछि आत्मनिर्भर बन्नमा सहजता थपेको स्थानीयवासी रेनु राईले बताउनुभयो । स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको उहाँको भनाइ छ । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उहाँले बताउनुभयो ।“सीप नुहँदा कुनै पनि काम गर्न सकेकी थिइन”उहाँले भन्नुभयो,“घर धन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो ।

वडाले तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएपछि आफैँ स्वरोजगार बनेकी छु ।अहिले यही कामले घरखर्च जोह गर्न सहजता भएको छ ।” वडा कार्यालयले सीप लिन इच्छुक २५ जना महिलालाई आवश्यक तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएको हो । वडाले यहाँका महिला तथा युवालाई स्वरोजगार बनाउनको लागि रोजगारीलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो ।

स्थानीयलाई स्वरोजगार बनाएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने योजनाका साथ काम गरिरहेको उहाँको भनाइ छ ।“वडाले रोजगारलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको छ”वडाध्यक्ष राईले भन्नुुभयो, “स्थानीयवासीको क्षमता वृद्धिसँगै आवश्यक सीप दिँदै आएका छौँ । गतवर्ष सिलाइकटाइको तालिम लिएका महिला दिदीबहिनीलाई मेसिन पनि वितरण गरेका छौँ । धेरै दिदीबहिनी अहिले व्यवसायमा जोडिनुभएको छ ।” युवालाई स्वरोजगार बनाउन १५ जनालाई हाउस वायरिङको तालिम दिएको वडाध्यक्ष राईले बताउनुभयो ।

तालिम लिएका युवा पनि अहिले व्यावसायिक बन्दै गएको उहाँको भनाइ छ । गाउँमा नै विद्युत् विस्तारको काम भइरहेकोले उनीहरुले त्यही काम गरेर आम्दानी लिन थालेको अध्यक्ष राईले जानकारी दिनुभयो ।“आयआर्जनसँग जोडिन सीप अपरिहार्य छ ।”उहाँले भन्नुभयो,“सीप लिएका युवालाई गाउँघरमा नै काम भ्याइनभ्याइ छ । सीपको कारण स्थानीयवासीले केही आम्दानी गरिरहेका छन् ।

तालिम लिएकालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्दै आएका छौँ ।” भावी दिनमा पनि सीपमूलक तालिमलाई निरन्तरता दिइने उहाँको भनाइ छ । वडामा आउने बजेटले मात्र धेरै काम गर्न सम्भव नभएकाले विभिन्न निकायसँगको समन्वय तथा सहकार्यमा काम गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । आफ्नो वडा भौगोलिक रुपमा विकट भए पनि उर्वरभूमि भएकाले कृषिको विकासमा पनि योजना बनाएर काम गरिरहेको उहाँको भनाइ छ ।

वडाले तालिम दिएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको वडाध्यक्ष राईले बताउनुभयो । “वडामा त्यति धेरै विकास बजेट त आउँदैन” उहाँले भन्नुभयो, “बजेटको सीमा सीमित भए पनि त्यसलाई अधिकतम उपयोग गर्ने कोसिस गरिरहेका छौँ । हामीले स्थानीयवासीको दैनिक जीवनमा परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यो वडालाई नमुना वडा बनाउने मेरो लक्ष्य छ ।” रासस