५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका हाँकेका पाइजाको किबी खेती



अ+ अ-

बागलुङ । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौँबाट पाँच वटा किबीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साविक धौलागिरि अञ्चलमा पहिलो पटक किबी भित्र्याएर यसको खेती सुरु गर्नुभएका पाइजा यतिबेला भने धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।

तत्कालीन समयमा प्रतिविरुवा रु एक हजार पाँच सयमा किवी खरिद गर्नुभएका उहाँले २०६४ सालमा मात्रै व्यावसायिक खेती गर्ने सोच बनाउनुभएको थियो । उहाँ यतिबेला एक सय २० रोपनीमा फलफूल खेती गरिरहनुभएको छ । पाइजाले गतवर्ष मात्रै चार हजार केजी किबी बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँले हाल चार सय किबीका विरुवाबाट व्यवसायिक खेती गरिरहनुभएको छ ।

कृषिमा रमाइरहनुभएका पाइजा किसानको नेता हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । पालिका अध्यक्षको कार्यकाल सकिएलगत्तै उहाँले फेरि गाउँमा किबी खेतीमै रमाइरहनुभएको छ । “कृषि पेसाकै कारण मलाई धेरैले चिने, धौलागिरिका चार जिल्लामै पहिलो पटक किबी खेती भित्र्याउने मै हो”, पाइजाले भन्नुभयो, “कृषिबाटै जिल्लामा चिनिएको थिए, गाउँपालिकाको निर्वाचनमा पालिका अध्यक्षमै निर्वाचित भएँ, सो कार्यकालमा पालिकामा किबी खेती विस्तार गरेँ ।” उहाँले आफू अध्यक्ष भएका बेला किसानलाई अनुदान उपलब्ध गराएको समेत बताउनुभयो ।

“गाउँपालिका अध्यक्ष भएपछि व्यस्तता बढ्यो, गाउँमा बसाइँ कम भयो, धेरै काम पालिका केन्द्रबाट गर्नुपर्ने हुँदा किबीले अलि स्याहार पाएन”, पाइजाले भन्नुभयो “अहिले त फुर्सद छ दिनभर किबीको स्याहार गर्न भ्याउँछु, परम्परागत कोदो, गहुँ र मकैबाली पूर्णरुपमा बन्द गरेर फलफूलमा लगानी गरेको हुँ ।” उहाँले हाल किबीसँगै ओखर, हलुवाबेद, सुन्तला, स्याउ, पाउलिनिया, एभोकार्डो, कागती, अनार खेतीका साथै आठ घार मौरी पनि पालन गरिरहनुभएको छ ।

पाइजाको किबी खेती देखेरै यतिबेला बागलुङका कैयन किसानले व्यावसायिक किबी खेती सुरु गर्नुभएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका–४ का लीला घर्ती, बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का, राजन जिसी, बागलुङ नगरपालिका–९ तित्याङका हीरा केसी र प्रेम केसी, ताराखोला गाउँपालिका–५ का नरबहादुर राना लगायत व्यावसायिक किबी खेतीमा रमाउनुभएको छ ।

बागलुङमा झण्डै ४० हेक्टर जमिनमा व्यावसायिक किबी खेती गरिँदै आइएको सरकारी तथ्याङ्क छ । बागलुङको दुदिलाभाटीमा किबी पकेट कार्यक्रम नै सञ्चालित छ । किबी भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत मानिन्छ । किबी फ्रुट भिटामिन सी र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसलाई नेपालमा ‘ठकी फल’ पनि भनिन्छ । रासस