• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

‘एनिमल’ बन्न सक्छ बबीको पहिलो ब्लकबस्टर फिल्म, २८ वर्षमा जम्मा ६ फिल्म हिट



एजेन्सी । बलिउड फिल्म ‘एनिमल’ डिसेम्बर १ मा हलमा रिलिज हुँदैछ । यसमा बबी देओल खलनायकको भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टमा भनिएको छ, फिल्ममा बबीको क्यारेक्टर निकै अनौठो छ ।

‘एनिमल’ मा उनको एउटा संवाद पनि सुनिने छैन, तर उनी सरप्राइज प्याकेजभन्दा कम भने हुनेछैनन् । बबीको करियरको हिसाबले ‘एनिमल’ निकै महत्वपूर्ण फिल्म हो । बलिउडमा आएको २८ वर्ष भइसक्यो तर आजसम्म उनी ब्लकबस्टर फिल्मको आकांक्षामा छन् ।

उनका ४० चलचित्रमध्ये २८ वटा फ्लप साबित भएका छन् भने ६ वटा मात्रै हिट भएका छन् । ‘एनिमल’ मार्फत बबीको करियरमा ब्लकबस्टर फिल्मको खडेरीको अन्त्य हुने र उनले अभूतपूर्व सफलता पाउने अपेक्षा गरिएको छ । बबी देओलले आफ्नो अभिनय करियर बाल कलाकारको रुपमा फिल्म ‘धरम वीर’बाट सुरु गरेका थिए । सन् १९७७ मा रिलिज भएको यो फिल्ममा बबीका पिता धर्मेन्द्रले मुख्य भूमिका निभाएका थिए । त्यतिबेला बबी ८ वर्षको मात्रै थिए ।

बबीले सन् १९९५ मा रिलिज भएको फिल्म ‘बरसात’ बाट नायकको रुपमा डेब्यु गरेका थिए । ट्विंकल खन्नाले पनि यही फिल्मबाट आफ्नो करियर सुरु गरेकी थिइन् । फिल्म रिलिजमा धेरै कठिनाइहरू थिए । एक अन्तर्वार्तामा बबीले यसलाई बनाउन पाँच वर्ष लागेको बताएका थिए । किनभने यसअघि फिल्मलाई शेखर कपुरले निर्देशन गर्ने भएका थिए तर २७ दिनको सुटिङपछि उनले फिल्म ‘बर्सात’ छाडेर फिल्म ‘ब्यान्डिट क्वीन’का लागि काम गरेका थिए ।

यसपछि फिल्म निर्माता राजकुमार सन्तोषी फिल्ममा आए तर उनले स्क्रिप्टमा केही परिवर्तन गर्न आग्रह गरेपछि निर्माणमा ढिलाइ भयो । जब फिल्म ‘बरसात’को निर्माण सुरु भयो बबी २२ वर्षका थिए भने रिलिज हुँदा २६ वर्षका थिए । फिल्म सुपरहिट भयो । आफ्नो पहिलो फिल्ममा बादलको भूमिका निर्वाह गर्दै, बबीले देशभरमा पहिचान बनाए र फिल्मफेयर सर्वश्रेष्ठ डेब्यू अवार्ड पनि पाए ।

‘बरसात’ १० करोडमा बनेको थियो । यसको कुल कमाई १९.५६ करोड रुपैयाँ थियो । फिल्मले शाहरुख खानको १९९५ मा आएको फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’को ओपनिङ रेकर्ड पनि तोडेको थियो । ‘बरसात’को ओपनिङ डे कलेक्सन ६८ लाख र वीकेन्ड कलेक्सन १.९६ करोड थियो । उही समयमा, डीडीएलजेले पहिलो दिन ५५ लाख र पहिलो सप्ताहन्तमा १.५६ करोडको व्यापार गरेको थियो ।

बबी ‘एनिमल’ मा नकारात्मक भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टका अनुसार फिल्ममा उनको कुनै संवाद छैन तर पनि उनले आफ्नो अभिनयले सबैलाई प्रभावित पार्न सक्नेछन् । ट्रेलरमा पनि बबीको उग्र लुकलाई निकै मन पराइएको छ ।

अनिल कपुरले ‘एनिमल’ मा बबीको कास्टिङलाई मास्टरस्ट्रोक भनेका छन् र फिल्मलाई जीवन दिने बताएका छन् । बबीले फिल्ममा आफ्नो भूमिकाका लागि आफ्नो फिजिकमा निकै मेहनत गरेका छन् । चार महिनादेखि बबीले कडा आहार र व्यायामको आधारमा उत्कृष्ट शरीर निर्माण गरेका छन् ।

बबीले एक अन्तर्वार्तामा खुलासा गरेका थिए कि करियरको खराब चरणमा हुँदा करिब चार वर्षअघि उनलाई ‘एनिमल’ अफर गरिएको थियो । निर्देशक सन्दीप वांगा रेड्डीलाई सेलिब्रेटी क्रिकेट लिगको दौरान खिचिएको बबीको तस्बिर देखाइएको थियो जसमा उनको दाह्री धेरै बढेको थियो र उनको लुक पूर्ण रूपमा परिवर्तन भएको थियो ।

सन्दीपले तस्बिरमा बबीको लुक मन पराए र उनलाई खलनायकको भूमिकाका लागि एकदम सही पाए । यसरी बबीलाई ‘एनिमल’ मा कास्ट गरिएको थियो । ‘एनिमल’ मा बबीका अलावा रणवीर कपूर, रश्मिका मन्दना, अनिल कपूर पनि देखिनेछन् । चलचित्रले सेन्सर बोर्डबाट ‘ए’ सर्टिफिकेट पाएको छ ।