• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

पूर्वको पशुपतिनाथ अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने



फाईल फोटो

काठमाडौँ । पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने भएको छ ।

बालाचतुर्दशी पर्वका बेला वार्षिक रुपमा गरिने अनुष्ठानमा यस वर्ष श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिने भएको हो ।

आगामी मंसिर १७ गतेदेखि शुरु हुने श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ नौ दिनसम्म चल्ने अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नविन गट्टानीले जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यक्रमको समापन मंसिर २५ गते बालाचतुर्दशीका दिन हुनेछ । शतविज छर्ने दिन बालाचतुर्दशीको अघिल्लो रात जाग्राम बस्ने चलन छ ।

गत वर्ष नेपाल, भारत, भुटानलगायत देशहरूका करिव ३ लाख भक्तजन अर्जुनधारा जलेश्वर धाम आएका थिए । वार्षिक अनुष्ठानका बेला दैनिक योग शिविर सञ्चालन गरिने र पतञ्जली योगपीठबाट बालकृष्ण आचार्य पनि धाममा आउने अध्यक्ष गट्टानीले बताउनु भयो ।

अर्जुनधारा जलेश्वर धाम हिन्दु तीर्थस्थलका रुपमा विकसित भइरहेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको अर्जुनधारा जलेश्वर धाम धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकासोन्मुख छ । सरकारले सूचिकृत गरेका एक सय पर्यटकीय गन्तव्य मध्येको एउटा धाम पनि पर्दछ ।

महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवास भएका बेलामा राजा विराटका हजारौं गाईलाई कौरवले हरण गरेका बेला अर्जुनले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको धार्मिक विश्वास छ ।