• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

केपी ओली टी–२० क्रिकेट: सन्दीपको ४ विकेटमा वागमतीको विजयी शुरुवात



काठमाडौँ । स्पिनर सन्दीप लामिछानेको बलिङप्रेरित वागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।

पोखरा क्रिकेट मैदानमा बिहीवारदेखि शुरु भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा वागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले हराएको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको टी–२० क्रिकेट प्रतियोगितामा एक सय ८४ रनको लक्ष्य पछ्याएको आयोजक १४.२ ओभरमा ७५ रनमै समेटिन पुग्यो । वागमतीको धारिलो बलिङसामु आयोजक समालिन सकेन । कप्तान सन्दीप लामिछानेले चार ओभरमा १६ रन मात्रै खर्चिएर ४ विकेट लिए । सुवास खत्रीले तीन तथा प्रतिश जिसीले दुई र रिजन ढकालले एक विकेट लिँदै आयोजकको इनिङ सस्तैमा रोके ।

आयोजकका लागि अमर मिश्रले १३, विजय प्रजापतीले १३ र सन्तोष यादव १२ रन बनाए । निर्मल थापाले १० रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकको रन बटुल्न सकेनन् । वागमतीले सहज जित निकाल्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपको कप्तानीमा उत्रिएको वागमतीले टस हारेर पहिले ब्याटिङको निम्तो पायो । वागमतीलाई ब्याटिङ गराउने आयोजकको निर्णय सही सावित भएन । रित गौतमको ७४ रनको योगदानमा वागमतीले पूरै ओभरमा खेल्दै सात विकेटको क्षतिमा १८४ रनको योगफल तयार पार्‍यो । ओपनर गौतमले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।

उनी २०औं ओभरको अन्तिम बलमा रनआउटको शिकार भए । अर्का ओपनर शुभ कंसाकार पनि २२ बल खेल्दै २७ रनमा रनआउट भए । शुभले ४ चौका र १ छक्का हिर्काए । इसान पाण्डे सन्देश थापाको बलमा डकआउट भए । पावरप्लेमा दुई विकेट गुमाएको बागमतीको इनिङ ओपनर रितले अगाडि बढाएउँदै अन्तिमसम्म पुर्‍याए । प्रतिक श्रेष्ठ १४ रन बनाउने क्रममा सन्तोष यादवको बलमा आउट हुन पुगे । प्रतिश जिसी पनि बिप्रासन केसीको बलमा ९ रनमै पभेलियन फर्किए । बलर केसीले १४औं ओभरमा २४ रन खर्चिएर दुई विकेट लिए ।

सो ओभरमा उनले सन्दीपको विकेट पनि लिए । लामिछानेले उनलाई लगातार तीन छक्का हिर्काएर दबाब राखे पनि ओभरको अन्तिम बलमा आउट भए । गौरभ खड्का १७ रनमा अविजित रहे । एकेडेमीका केसीले तीन ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्देथ थापा र सन्तोष यादवले समान एक/एक विकेट लिए ।