• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

जब मैदानबाट आँशु खसाल्दै ड्रेसिङ रुममा गए रोहित शर्मा



एजेन्सी । विश्वकप २०२३ को फाइनलमा आयोजक भारत अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । यो हारबाट भारतीय कप्तान रोहित शर्मा निकै निराश देखिएका छन् ।

रोहितले खेलपछि आफ्नो टोलीका ब्याट्सम्यानले राम्रो प्रदर्शन नगरेको र पिचलाई दोष नदिने बताए ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २४० रन बनाएर पूरा टिम अलआउट भएको थियो । जवाफमा अष्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

भारतीय टोलीले विश्वकपमा लगातार ११ औँ जित हात पार्दै उपाधि जित्न चाहेको थियो तर त्यसो हुन सकेन । प्याट कमिन्सको कप्तानीमा रहेको अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्दै छैटौं पटक विश्व च्याम्पियन बन्यो ।

योसँगै भारतीय टोलीले फेरि आईसीसीको उपाधिको खडेरी अन्त्य गर्नबाट बञ्चित भएको छ । भारतले १० वर्षयता कुनै पनि आईसीसीको उपाधि जित्न सकेको छैन । भारतको हारपछि कप्तान रोहित शर्माले आफ्नो आँसु लुकाउन सकेनन् र रुँदै मैदानबाट ड्रेसिङ रुममा गए ।

रोहित शर्माको बयान
नतिजा हाम्रो पक्षमा आएन र आज हामीले राम्रो प्रदर्शन गर्न सकेनौं भन्ने हामीलाई थाहा छ । तर मलाई टोलीमा गर्व छ । यो खेल हार्नु हुँदैनथ्यो । इमानदारीपूर्वक, हामीले २० वा ३० रन थप गरेको भए राम्रो हुन्थ्यो ।

ट्राभिस र मार्नसले हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर निकाले । मलाई लाग्छ फ्लड लाइटमा ब्याटिङ गर्न सजिलो भयो । मेरो मतलब हामीलाई थाहा छ कि लाइटको समयमा ब्याटिङ गर्न पिच राम्रो हुन्छ, त्यसैले हामीले कुनै बहाना नगर्नु राम्रो हुन्छ । हामीले राम्रो ब्याटिङ गर्न सकेनौं । तर हामीले ट्राभिस र मार्नसलाई श्रेय दिनैपर्छ कि दुबैले खेललाई टाढा राखे ।