२६ भाद्र २०८३, शुक्रबार
,
Latest
सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन शिक्षा समितिको निर्देशन प्रतिनिधिसभा: इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा माछा मार्ने क्रममा चौधरीको मृत्यु असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका स्वीकृत गर्न कार्यव्यवस्था परामर्श समितिको परामर्श रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला काठे पुलकै भरमा बेँसीसहर–चामे सडक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह



अ+ अ-

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बाढी प्रभावित क्षेत्रबाट बालबालिकालाई अन्यत्र लैजाँदा स्थानीय तह र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सिफारिस अनिवार्य लिन आग्रह गर्नुभएको छ ।

शुक्रबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा मन्त्री बादीले सामाजिक संघसंस्थाले बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा सम्बन्धित स्थानीय तहका बाल कल्याण अधिकारी र राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सिफारिस लिनुपर्ने बताउनुभयो । विपद्का बेला बालबालिका बेचबिखनमा पर्ने जोखिम उच्च हुने भएकाले उनीहरूको अभिलेख राख्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले पढाइदिने वा अन्य व्यवस्था गरिदिने भन्दै बालबालिकालाई प्रभावित क्षेत्रबाट अन्यत्र लैजाँदा बेचबिखनको जोखिम हुने बताउँदै सिफारिसविना बालबालिकालाई कतै पनि नलैजान आग्रह गर्नुभयो ।

मन्त्री बादीका अनुसार महिला तथा बालबालिकाको सुरक्षित आवास, मानव बेचबिखन तथा लैङ्गिक हिंसा नियन्त्रणका लागि नेपाल प्रहरीसँगको समन्वयमा बेलकोट, गल्छी नाका, शिवपुरी र कजुरी भञ्ज्याङलगायत संवेदनशील क्षेत्रमा चेकपोस्ट स्थापना गरी निगरानी बढाइएको छ ।

उहाँले बाढीपीडितका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा अनधिकृत रूपमा प्रयोग नगर्नसमेत आग्रह गर्नुभयो । राहत तथा उद्धारका नाममा पीडितको दुःखलाई प्रचारको माध्यम बनाउन नहुने भन्दै उहाँले प्रभावित नागरिकको मर्यादा, गोपनीयता र अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । बालबालिकाका तस्बिर तथा भिडियोको अनधिकृत प्रयोग रोक्न नेपाल प्रहरीको साइबर ब्युरोसँग समेत समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री बादीका अनुसार हाल होल्डिङ सेन्टरमा अभिभावकविहीन १२० बालबालिका रहेका छन् । उनीहरूको प्रारम्भिक लेखाजोखा, संरक्षण तथा अभिभावकको खोजी भइरहेको छ । अभिभावकविहीन बालबालिकाको संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, खेटोस्थित सरकारी भवनमा राष्ट्रिय बाल अधिकार परिषद्अन्तर्गत अस्थायी संरक्षण केन्द्र स्थापना गर्ने कामसमेत तीव्र पारिएको उहाँले बताउनुभयो ।

बाढी प्रभावित महिला तथा बालबालिकाको उद्धार, संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहायता र पारिवारिक पुनर्मिलनलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री बादीले दाबी गर्नुभयो । बाढी आएलगत्तै मन्त्रालयले संरक्षण विषयगत क्षेत्रको बैठक गरी बाल संरक्षण, लैङ्गिक हिंसा प्रतिकार्य तथा मनोसामाजिक सहयोगसम्बन्धी संयन्त्र सक्रिय बनाइएको उहाँले जानकारी दिनुभयो ।

सरकारको एकद्वार नीतिअनुसार राहत परिचालनका लागि समाज कल्याण परिषद्, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबीच समन्वय भइरहेको उहाँले बताउनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म ५४ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ४० करोड ६ लाख ४४ हजार ९ सय रुपैयाँ र ३० राष्ट्रिय गैरसरकारी संस्थाबाट १६ करोड ८२ लाख १५ हजार १०१ रुपैयाँ बराबरको राहत सहयोग प्राप्त भएको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट थप ५ करोड ९९ लाख ३२ हजार १६९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको मन्त्री बादीले जानकारी दिनुभयो ।