१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

छठ पर्व: सबैको मन जोड्ने सेतु

छठ पर्व: सबैको मन जोड्ने सेतु
अ अ+ अ-

धनुषा । केरवा ज फरल घउरस वोपर सुगा मडराय ।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।

अर्थात् छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर यो गीतबाटै सचेत गराउन खोजिएको छ ।

अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ । छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।

आज पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । जनकपुरधाम किशोरी नगरकी एक बर्तालु ज्योति झा बताउनुहुन्छ, “खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।”

प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीर लिने चलन छ । खरना विधिको सन्दर्भमा महेन्द्रनगरकी ७५ वर्षीया गीता झा भन्नुहुन्छ, “आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।”

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरीन्छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ६५ वर्षीया सङ्गीतादेवी यादवले छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गए अनिष्ट हुने जनविश्वास छ ।” यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने गरिन्छ ।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिने पुन: जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याउँछन् र प्रात:कालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । पण्डित लालबाबु झाका अनुसार अघ्र्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ ।

जनकपुरका वरिष्ठ पत्रकार तथा मैथिली साहित्यकार रामभरोस कापडी भन्नुहुन्छ, “सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो छठ ।” छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरी सिङ्गारिएको छ ।

श्रद्धालुले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन् । दीपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी सुरु हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अहिले तराई मधेसका हाट, बजार, सडक र गल्ली छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन् । उखु, केराउ, अदुवा, केरा, मुलालगायतका कृषिउपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खीर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमिसँग जोडिएको जनजीविका र जनस्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ ।

छठ पर्वका लागि माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा डोम जातिले बुन्छन् । डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपली, छैटी, बेना (हाते पङ्खा) छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन् । यसरी सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुला सङ्ग्रहालयकै काम गरिरहेको प्रतीत हुने समाजशास्त्री नागेन्द्र दुबे बताउनुहुन्छ । समाजशास्त्री दुबेका अनुसार छठ पर्वमा जात, धर्म, क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी फरक फरक समुदायका अनुहार जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेको हुन्छ ।

“मूलरुपमा मधेसी समुदायको मुख्य पर्वका रुपमा मानिँदै आएको यस पर्वमा सिउँदोदेखि नाकको टुप्पासमेत ढाकिने गरी सिन्दूर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहणी उल्लेख्यरुपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुुन्छ”, मैथिली संस्कृतिका जानकार तथा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल बताउनुहुन्छ ।

अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार रोजगारीको ठूलो बजार मानिएको सङ्घीय राजधानी काठमाडौँबाट दसैँ मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन् । उहाँले भन्नुभयो, “जब दसैँ मान्ने सबैतिरबाट काठमाडौँ फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागि तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन् ।” सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैँ यसरी नै यात्रालाई निरन्तरता दिइरहेको उहाँको कथन छ ।

तराईवासी मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ ।

यस पर्वको अर्को विशेषताको रुपमा सबै जातजाति, ठूला साना, धनी, गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजाअर्चना गर्नु पनि हो । यस कारण वर्षौंसम्म भेटघाट नभएका बोलचाल नभएकासँग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ । तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ ।

अजयकुमार साह/रासस