२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा प्लास्टिकका फूल बिक्रीमा रोक



अ+ अ-

बलेवा । बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहराको बगैँचामा थरीथरीका फूल फुलेका छन् । तिहार पर्खेर बसेका फूल भुवनले व्यावसायिक रुपमा उत्पादन गर्नुभएको हो ।

बजार र धार्मिक तीर्थस्थलहरु नजिकै रहेकाले तिहारका लागि मात्रै नभएर अन्य समयमा समेत बिक्री हुने अपेक्षाका साथ उहाँले फूलको व्यावसायिक उत्पादन थाल्नुभएको हो । जिल्लामा यसरी व्यावसायिक रुपमा फूलको उत्पादन गर्नेहरु निकै कम छन् ।

तिहार नजिकिँदै गर्दा फूलले बजार नपाउला कि भन्ने चिन्ता नरहेको बोहराले बताउनुभयो । बागलुङ नगरपालिकाले प्लास्टिक र आयातित फूलको प्रयोगलाई रोक लगाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ थियो ।

“तिहारका लागि स्थानीय रुपमा उत्पादन हुने फूल पर्याप्त हुन्छ । यहाँका हरेक घरमा थरीथरीका फूल फुल्छन् । पछिल्लो समय गाउँघरमा प्राकृतिक रुपमा फुल्ने फूलहरुको प्रयोगमा कमी आउन थालेको छ”, बोहराले भन्नुभयो, “बजारमा विदेशी बजारबाट आउने र प्लास्टिकका फूलले प्राकृतिक फूलको महत्व बिर्साएको छ ।” प्लास्टिक र आयातित फूलकै कारण पुष्प व्यवसायमा कसैले हात नहाल्ने उहाँको भनाइ थियो ।

गाउँको तुलनामा सदरमुकाम तथा बजार क्षेत्रमा प्लास्टिकका फूल बढी खपत हुने गरेको थियो । यस वर्ष बागलुङ नगरपालिकाले प्लास्टिकका फूल निषेध गरेको छ । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएर स्थानीय व्यवसायीले उत्पादन गरेका फूललाई प्राथमिकता दिइएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ नगरभित्र प्लास्टिकजन्य फूलको कारोबारमा रोक लगाउने निर्णय गरेको थियो । “जिल्ला प्रशासन, उपभोक्ता मञ्चलगायत सरोकारवालासँग मिलेर निर्णय कार्यान्वयनका लागि अनुगमनसमेत सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “आयात रोक्ने र प्राकृतिक वस्तुको उपयोग बढाउन यो निर्णय गरेका हौँ । यसबाट प्लास्टिकका फूलको खरिदमा बाहिरिने ठूलो रकम स्थानीयस्तरमा खर्च हुन्छ ।”

प्लास्टिकजन्य फूूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नाका साथै स्थानीय फूूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको खड्काको भनाइ थियो । बजारमा प्लास्टिकका फूलको कारोबार भएको पाइए कारबाही गरिने नगरपालिकाले जनाएको छ । रासस