२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशमा दशगजा क्षेत्रका सीमा स्तम्भ मर्मत सुरु



अ+ अ-

जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपालले मधेस प्रदेशका आठवटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुन:निर्माण, मर्मत सम्भार र पुन:स्थापना सुरु गरेको छ ।

आज धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ जटही नाका नजिक रहेको सीमास्तम्भ नं २८५/४ बाट मर्मतसम्भार सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो ।

प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट विजोर नम्बरका एक हजारभन्दा बढी सीमास्तम्भको आवश्यकतानुसार पुन:निर्माण, मर्मतसम्भार र पुन: स्थापनाको काम गरिने शाहको भनाइ छ ।

“विसं २०७७ साउन १९ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरुको निर्माण, मर्मतसम्भार र पुन:स्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम आजदेखि विजोर नम्बरका सीमास्तम्भको पुन:निर्माण, मर्मत सम्भार र पुन:स्थापनाको काम सुरु भएको छ”, सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले भन्नुभयो, “यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल—भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्मरुपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यसकार्यमा स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौँ ।”

त्यसैगरी भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरु सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताउनुभयो । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार आफूहरुले पनि आवश्यक कार्य अगाडि बढाउने र जसले सीमास्तम्भको मात्र नभइ दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका लागि पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।

त्यसअवसरमा नगराईन नगरपालिका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडाध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रमुख, प्रहरी उपरीक्षक दिनेश मल्ल, नेपाल पत्रकार महासङ्घ धनुषा अध्यक्ष मनिका झालगायत सरोकारवालाको उपस्थिति थियो ।

यसअघि यही कात्तिक १ गते सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासले भारतीय सीमासँग जोडिएका नेपालतर्फका एक सय ४३ वडाका वडाध्यक्षसँग छलफल गरी सीमा सुरक्षा, तिनको संरक्षण, सीमा क्षेत्रका समस्या, चुनौती र समाधानका विषयमा सुझाव लिएको थियो । रासस