३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’

‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’
Annapurna Base Camp
अ+ अ-

गण्डकी: विजया दशमीको टीका लगाएसँगै पदयात्राका लागि पुुगेका पर्यटकका कारण अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्को लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका क्षेत्रका होटल आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

विसं २०७२ को भूकम्प, केही वर्षअघि अन्नपूर्ण आधार शिविर पदमार्ग क्षेत्रमा आएको हिमआँधीले पारेको प्रभावसँगै कोरोना महामारीलगायतका कारण प्रभावित यहाँको पदयात्रा पर्यटनमा पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढिरहेको छ ।

विजयादशमी पछि पदमार्ग क्षेत्र आन्तरिक पर्यटकले भरिएको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुुभयो । “शुक्रबार मात्रै झण्डै चार सयको सङ्ख्याका आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरमा आएका छन्”, उहाँले भन्नुुभयो, “पदमार्ग क्षेत्रका अन्य स्थानका होटेल भरिभराउ बनेका छन् ।”

पदयात्रा पर्यटनमा विश्वमा नै चासो र चर्चा हुने गन्तव्य हो अन्नपूर्ण आधार शिविर । पर्यटकीय नगरी पोखरालाई मुख्य आधार बनाएर पदमार्ग क्षेत्रको घान्द्रुकसम्म सवारीसाधनबाट पुुगेका पदयात्रीहरू त्यहाँबाट तीन दिनको पदयात्रा गरेपछि अन्नपूर्ण आधार शिविर पुुग्दछन् । थप लामो समय पदयात्रा गर्न चाहनेहरू पोखरा–बागलुुङ राजमार्गअन्तर्गत कास्कीको नयाँपुलबाट पनि पदयात्रा गर्ने गर्दछन् ।

नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकाससँगै पछिल्ला वर्षमा यस क्षेत्रको पदयात्राका लागि देशका विभिन्न भागबाट स्वदेशी पर्यटक पदयात्राका लागि आउने गरेको सचिव गुुरुङले बताउनुुभयो ।

हिमाल आरोहणका क्षेत्रमा सबैभन्दा जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको परिधिमा गरिने पदयात्रा विश्वका उत्कृष्ट पदयात्रा मार्गमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनुुभयो । उहाँका अनुसार विदेशी पर्यटकका साथै पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण पदयात्रा पर्यटनमा बढिरहेको छ ।

अन्नपूर्ण आधार शिविरमा विशेषगरी युरोप, अमेरिकाका साथै मलेसिया, चीन, कोरियालगायतका देशका नागरिक बढीमात्रामा आउने गरेका छन् । जथाभावी बाटो खन्नेक्रमले समग्र पदयात्रा पर्यटन नै जोखिममा पर्दै गएको वास्तविकतामा अन्नपूर्ण आधार शिविरसहित मर्दी हिमाल, पुन हिल, मिलेनियम ट्रेकलगायतका पदमार्ग पर्यटकको आकर्षक गन्तव्यमा पर्दै गएका छन् ।

जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिँदै जानु पदयात्रा पर्यटनका लागि चुनौतीको विषय भएको जनाउँदै अध्यक्ष पन्थीले भएका पदमार्गको संरक्षणसँगै वैकल्पिक पदमार्गको खोजी गरिनुु अपरिहार्य भएको बताउनुुभयो ।

फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहदेखि चार हजार एक सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा एरिक सिप्टनले गर्नुभएको पदयात्राले यहाँको पदयात्रा पर्यटन अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । अन्नपूर्ण हिमालको गरिमा र महत्वलाई उजागर गर्नका लागि प्रत्येक वर्षको अन्नपूर्ण आरोहण दिवसका अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथन गर्दै आइएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताउनुुभयो ।

हालसम्म तीन  संस्करणसम्मको अन्नपूर्ण म्याराथन सम्पन्न भइसकेको जनाउँदै उहाँले त्यसबाट अन्नपूर्ण आधार शिविरिको पदयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको थप आकर्षण बढिरहेको बताउनुुभयो ।

आजभन्दा साढे चार दशकअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक यहाँका भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता रहेकामा अहिले भने सबै किसिमका सुविधा सम्पन्न होटलले पर्यटकको स्वागत गरिरहेका छन् ।

अन्नपूर्ण आधार शिविरमा पहिलो पटक २०३८ सालमा पर्यटकलाई लक्षित गरी यस क्षेत्रका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे ,आधार शिविर र अन्नपूर्ण आधार शिविरसमेत गरी २६ होटल सञ्चालनमा आएका थिए । पछिल्ला वर्षमा थप आठ  होटल थपिएको बताउँदै सचिव गुुरुङले होटेलको सङ्ख्या थपसँगै भएका होटेलमा पनि पर्यटकस्तरीय पूर्वाधार थपिएको जानकारी दिनुुभयो ।

धार्मिक एवं सांस्कृतिकरूपले महत्वपूर्ण मानिने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्ने बुद्धशिला, पुजनीय बराह र यहाँबाट देखिने एक सय आठ धारासहितका धार्मिकस्थलले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ । आइतबारदेखि नेपालको औपचारिक भ्रमण गर्न लाग्नुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविरमा पनि आउने कुराले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको सचिव गुरुङले बताउनुुभयो ।

“संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो अतिविशिष्ट पाहुना अन्नपूर्ण आधार शिविरमा आउनुुहुने कुरा हाम्रा लागि ठूलो गौरवको विषय हो”, उहाँले भन्नुुभयो, “उहाँको आगमनले विश्वमाझ फैलिएको अन्नपूर्ण हिमाल र अन्नपूर्ण आधार शिविरका साथै समग्र यस क्षेत्रको महत्व आगामी दिनमा अझै चुलिएर जाने विश्वास लिएका छौँ ।” रासस