२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सुदूरपश्चिममा मुख्य बालीको उत्पादकत्वमा वृद्धि

सुदूरपश्चिममा मुख्य बालीको उत्पादकत्वमा वृद्धि
अ अ+ अ-

–सिद्धराज भट्ट

सुदूरपश्चिम । उन्नत बीउबिजनको प्रयोग बढेसँगै सुदूरपश्चिम प्रदेशमा धान र गहुँलगायत मुख्य बालीको उत्पादकत्व पछिल्ला वर्षमा वृद्धि हुँदै गएको छ । 

सिँचाइको सुविधा पहिलेको भन्दा थप क्षेत्रमा विस्तार हुँदै गएको र किसान कृषिसम्बन्धी प्रविधिसँग जानकार हुँदै जाँदा पनि उत्पादन बढ्दै गएको क्षेत्रीय कृषि विकास निर्देशनालयले जनाएको छ । “उन्नत बीउको प्रयोग र किसान कृषिका प्रविधिसँग जानकार हुँदा धान गहुँ लगायतका बालीको उत्पादन र उत्पादकत्व पनि बढेको छ”, निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भन्नुभयो, “पहाडका छ जिल्लामा भने खाद्यान्न उत्पादन पर्याप्त नहुँदा तराईका जिल्लावाट आपूर्ति हुने गरेको छ ।” पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा हुने विभिन्न बालीको उत्पादनले ती जिल्लाको जनसङ्ख्याका लागि खाद्यान्न अपर्याप्त हुने गरेको जनाइएको छ ।

तराईको कैलाली, कञ्चनपुर र पहाडको डडेलधुरा जिल्लामा उत्पादन हुने खाद्यान्नले ती जिल्लाको खाद्यान्न अभाव नहुने जनाइएको छ । प्रदेशका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुर जिल्लामा धान, मकै र गहुँ खेती गरिने क्षेत्रफल र उत्पादन परिमाण पहाडी जिल्लाको भन्दा बढी छ । आर्थिक वर्ष २०७५-७६ को तथ्याङ्कका अनुसार प्रदेशमा एक लाख ८१ हजार ३९८ हेक्टर जग्गामा गरिएको धान खेतीको उत्पादन छ लाख दश हजार ३२८ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ३६ मेट्रिक टन थियो ।

आर्थिक वर्ष २०७६-०७७ मा सम्म आइपुग्दा एक लाख ८७ हजार ३२ हेक्टरमा धान खेती गरिएकोमा उत्पादन छ लाख ५८ हजार ४२९ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन पुगेको छ । मकै बाली आव २०७५-०७६ मा ५० हजार ५६९ हेक्टरमा गरिएकोमा ९३ हजार ३८६ं५ मेट्रिक टन उत्पादन र उत्पादकत्व प्रतिहेक्टर एक दशमलब ८५ मेट्रिक टन थियो । आव २०७६-०७७ मा आइपुग्दा मकै खेतीको क्षेत्रफल ५१ हजार ३३२ हेक्टर पुग्दा उत्पादन ९२ हजार ८७५ मेट्रिक टन तथा उत्पादकत्व प्रतिहेक्टर दुई मेट्रिक टन पुगेको छ । 

आर्थिक वर्ष २०७५-०७६ मा एक लाख ४२ हजार ७३९ हेक्टरमा गहुँको खेती गरिएकोमा उत्पादन तीन लाख २० हजार ८२ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर दुई दशमलब २४ मेट्रिक टन थियो । आर्थिक वर्ष २०७६-०७७ मा आइपुग्दा यो बालीको खेती एक लाख ५३ हजार १४६ हेक्टरमा गरिएकोमा उत्पादन तीन लाख ३८ हजार ६५९ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर दुई मेट्रिक टन पुगेको छ । 

अघिल्लो वर्षको तुलनामा आव २०७६-०७७ मा गहुँखेती गरिएको क्षेत्रफल बढेको भए पनि प्रतिकूल मौसमका कारण उत्पादकत्व भने केही घटेको देखिएको छ । तथ्याङ्कमा प्रदेशमा कोदो १८ हजार ८७ हेक्टर, फाँपर ३४८ हेक्टर र जौँ बालीको खेती नौ हजार ११९ हेक्टरमा गर्ने गरिएकोमा यी बालीको उत्पदकत्व पनि अघिल्लो वर्षको तुलनामा वृद्धि भएको उल्लेख छ । कोदो र फाँपरको खेती पहाडी र हिमाली जिल्लामा हुने गरेको छ । 

यसबाहेक प्रदेशमा वार्षिक तेलहन ३५ हजार ३२० र दलहन ४८ हजार ४०८, आलु दुई लाख सात हजार ९८१, उखु दुई लाख ४१ हजार १५७ र ताजा तरकारी तीन लाख ४५ हजार १३४ मेट्रिक टन उत्पादन हुने गरेको छ । पशुपंक्षीजन्य पदार्थको उपलब्धतातर्फ दूध २४४ हजार मेट्रिक टन, मासु ३१ हजार मेट्रिक टन र फूल नौ करोड गोटा उत्पादन हुने गरेको छ । चालू आर्थिक वर्षमा विभिन्न बालीको उत्पादन बारेको तथ्याङ्क तयार हुन बाँकी रहेको जनाइएको छ । 

‘क्रफ कटिङ’का आधारमा विभिन्न बालीको उत्पादन र उत्पादकत्वको तथ्याङ्क निकाल्ने गरिन्छ । प्रदेशमा कूल खेतीयोग्य जग्गामध्ये झण्डै ५४ प्रतिशत जग्गामा सिँचाइको सुविधा भएकोमा बाँकी जग्गामा आकाशको पानीका भरमा खेती हुने गरेको छ । प्रदेश सरकारको बजेट नीति कार्यक्रममा कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको छ । 

पञ्चशक्ति सिड कम्पनी प्रालि कैलालीका सञ्चालक विष्णुराज बुर्लाकोटीले पछिल्ला वर्षमा कृषि प्रसारका क्षेत्रमा काम राम्रो हुँदा बालीको उत्पादन बढेको बताउनुभयो । “कृषक उन्नत बीउको पहुँचमा सहज ढङ्गले पुग्दा बालीको उत्पादन पनि बढेको देखिएको छ”, उहाँले भन्नुभयो । प्रदेशमा बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट अनुमति लिएर उन्नत बीउबिजन उत्पादन गर्ने निजी कम्पनी स्थापना भइरहेका छन् ।

आधुनिक औजारले खेती गर्न सहज

खेत खनजोत गर्ने, बाली काट्ने र झार्नेजस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई गहुँ र धानलगायत खेती गर्न पहिलेको भन्दा सहज हुँदै गएको छ  । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रमसमेत कम गर्नुपर्ने हुँदा पहिलेको भन्दा निकै सहज भएको कैलालीका किसान भोजराज ओझाले बताउनुभयो । “पहिले गोरुले नै खेत खनजोत गर्ने र पाकेको बाली दाइ गर्नु पथ्र्यो, पछिल्ला वर्षमा ट्र्याक्टर, पावर टिलर, थ्रेसर मेशिनजस्ता आधुनिक कृषियन्त्रको प्रयोग बढ्दा निकै सहज भएको छ”, उहाँले भन्नुभयो, “समयमै मलखाद, बीउबिजन, सिँचाइको सुविधा नहुने समस्या हुँदा समस्या हुने गरेको छ ।”

खेतमा रासायनिक मलखादको जथाभावी प्रयोगले भने माटो बिग्रिदै गएको किसानको अनुभव छ । बाली लगाउँदा गोबर कम्पोष्ट मलको प्रयोग घट्दै जाँदा यसको विकल्पमा प्रयोग गर्ने गरिएको रासायनिक मलले माटो बिग्रेको ओझाले बताउनुभयो । 
 
गहुँ बाली भित्र्याउने चटारोः

सुदूरपश्चिम प्रदेशका किसानलाई यतिवेला गहुँबाली काटेर भित्र्याउने चटारो बढेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम भए पनि पाकिसकेको गहुँबाली भित्र्याउनै परेको स्थानीय किसान रामबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना फेरि बढेको सुनिन्छ, कोरोनाले केही त्रास बढाए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिई गहुँबाली काट्नै पर्‍यो ।” किसानको मुख्य आम्दानी स्रोतको रुपमा गहुँ र धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने खाद्यान्न घरमा भण्डारण गरी बढी भएको गहुँ र धान बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् । कृषि निर्देशनालयका निर्देशक जोशीले यस वर्ष गहुँ उत्पादन गत वर्षभन्दा केही वृद्धि भएको अनुमान गरिए पनि यकिन तथ्याङ्क आउन समय लाग्ने बताउनुभयो । रासस