• २० मंसिर २०८०, बुधबार
  •      Wed Dec 6 2023
  •   Unicode
Logo
Latest
★   प्रमुख अतिथि नपाएर नेपाल बार हैरानीमा ! ★   एनसेल प्रकरण: समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक: सभापति लामिछाने ★   एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन ★   नक्कली भुटानी शरणार्थी प्रकरण: खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ ★   चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी ★   बैतडीका प्रतापलाई डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ को पुरस्कार ★   बल ह्यान्डलिङका कारण आउट भए बंगलादेशका मुस्फिकुर ★   विराटनगर आगलागी अपडेट: मृत्यु हुनेको संख्या दुई पुग्यो ★   बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा ★   बक्स अफिसमा ‘एनिमल’को धमाका: ५ सय करोड नजिक

लता मंगेशकरको पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने



बीबीसी

मुम्बई । स्वर कोकिला भारतरत्न लता मंगेशकरको आइतबार बिहान निधन भएको छ। उनी ९२ वर्षकी थिइन् र विगत एक महिनादेखि कोभिड–१९ सँग सङ्घर्ष गरिरहेकी थिइन्।

लता मंगेशकरको मृत्युको बारेमा जानकारी दिँदै मुम्बईको ब्रीच क्यान्डी अस्पतालका डा प्रतीत समदानीले भने, “लता दीदी (लता मंगेशकर) को आज बिहान ८ः१२ मा निधन भएको छ। उनको शरीरका धेरै भाग खराब भएको थियो। उनको लामो समयदेखि अस्पतालमा उपचार भइरहेको थियो ।”

यसअघि सरकारका तर्फबाट केन्द्रीय मन्त्री नितिन गडकरीले उनको निधनको पुष्टि गर्दै ट्विट गरेका थिए, “देशको गौरव र सङ्गीत जगत्को ताज स्वर कोकिला भारतरत्न लता मंगेशकरको निधन धेरै दुखद हो । पवित्र आत्माप्रति हार्दिक श्रद्धाञ्जली। उनको निधनले देशलाई अपूरणीय क्षति पुगेको छ । उनी सधैँ सबै सङ्गीत साधकहरुका लागि प्रेरणा हुन्।”

लता मंगेशकरको आइतबार साँझ पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । भारत सरकारले स्वर कोकिलाको निधनमा दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

चर्चित पार्श्व गायिका लताले भारतमा चलचित्र सङ्गीतलाई नयाँ परिभाषा दिएकी छन् । उनलाई भारतको ‘स्वर महारानी’ र ‘सुर नाइटिङ्गेल’ भनिन्थ्यो।

उनको फिल्म सङ्गीत करियर आधा शताब्दीभन्दा बढी लामो थियो  । यो अवधिमा उनले ३६ भाषाहरूमा ३० हजारभन्दा बढी गीत गाइन्।

इन्दौरमा जन्म

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्य भारतको इन्दौर सहरमा भएको थियो । उनका पिता पण्डित दीनानाथ मंगेशकर पनि गायक थिए।

दीनानाथ एक थिएटर कलाकार पनि थिए । उनले मराठी भाषामा धेरै सङ्गीत नाटकहरू निर्माण गरे।

लता आफ्ना पिताका पाँच सन्तानमध्ये जेठी थिइन्। पछि लताका साना भाइबहिनीहरूले पनि उनलाई पछ्याए । उनीहरु सङ्गीतको संसारमा प्रवेश गरे र पछि भारतका प्रसिद्ध गायक बने।

कठिन समय

लताले बीबीसीलाई दिएको अन्तर्वार्तामा आफ्नो बाल्यकालको स्मरण गर्दै आफ्नो परिवारको शास्त्रीय सङ्गीतसँग गहिरो सम्बन्ध रहेको बर्ताएकी थिइन् । उनको घरमा फिल्मी सङ्गीत मन पर्दैनथ्यो ।

लताले कहिल्यै औपचारिक शिक्षा पाइनन् । एक कामदारले लतालाई मराठी अक्षरहरू चिनाएकी थिइन्। त्यही समयमा एक स्थानीय पुजारीले उनलाई संस्कृत पढाए। घरमा आएका आफन्त र शिक्षकले उनलाई अन्य विषय पढाउँथे ।

लताको बुबाले धेरै पैसा गुमाएर आफ्नो फिल्म र थिएटर कम्पनी बन्द गर्नु परेपछि लताको परिवारमा धेरै नराम्रो समय आयो । यसपछि उनको परिवार इन्दौरबाट पूना (अहिले पुणे) गएको थियो।

ऋण असुल्नका लागि महाराष्ट्रको सांगलीमा रहेको उनको पैतृक घर लिलामी गरिएको थियो । आफ्नो बुबाको मृत्युपछि लता आफ्नो परिवारलाई बम्बई (अहिले मुम्बई) मा सारिन्।

यो १९४० को दशकको हो। त्यतिबेला चलचित्रमा गीत गाउने अवसर थिएन । त्यसैले लता मंगेशकरले परिवार चलाउन अभिनय गर्न थालिन् । लताले आठ मराठी र हिन्दी फिल्ममा पनि अभिनय गरिन् ।

उनले सन् १९४३ मराठी फिल्म गजभाउमा केही लाइन र केही शब्द पनि गाइन्। फिल्ममा उनको यो पहिलो गीत थियो । सन् १९४७ सम्ममा लताले अभिनयबाट हरेक महिना करिब २०० रुपैयाँ कमाउन थालिन् ।

उनले नसरीन मुन्नी कबीरसँगको एक अन्तर्वार्तामा आफ्नो अभिनयको अवस्था यस्तो भनेकी थिइन्, “मलाई अभिनय कहिल्यै मन परेन । त्यो मेकअप गर्दै, बत्तीहरू, मानिसहरूलाई यो संवाद बोल्न र त्यो कुरा भन्न निर्देशन। मलाई यो सब देखेर निकै असहज महसुस हुन्थ्यो ।”

एक पटक एक फिल्म निर्देशकले उनको आँखीभौँ काट्न लगाउँदा लतालाई निकै चोट पर्यो । निर्देशकले आफ्नो आँखीभौँ निकै बाक्लो भएको बताएका थिए ।  लताले निर्देशकको कुरा मान्नु परेको थियो।

पहिलो गीत 

लताले सन् १९४९ मा फिल्म ‘महल’का लागि आफ्नो पहिलो हिन्दी फिल्म गीत गाएकी थिइन् । यस फिल्ममा उनको गायनको निकै प्रशंसा भएको थियो ।

चलचित्र महलमा उनको गीतलाई चर्चित सङ्गीतकारहरुले नोटिस गरे र उनलाई अवसर आउन थाल्यो। त्यसपछि चार दशकसम्म लताले हिन्दी फिल्ममा हजारौँ गीत गाइन् ।

उनले पाकीजा, मजबूर, आवारा, मुगल–ए–आजम, श्री ४२०, आराधना र दिलवाले दुल्हनिया ले जायेङ्गे जस्ता रोमान्टिक फिल्महरूमा पनि गीत गाइन् । 

सन् १९६२ मा चीनसँगको युद्धमा मारिएका भारतीय सैनिकको सम्मानमा लताले ‘ए मेरे वतन के लोगो’ गीत गाएपछि भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूका आँखा पनि रसाएका थिए।

पुरुष गायकभन्दा धेरै पारिश्रमिक

लता मंगेशकरले आफ्नो युगका सबै प्रमुख बलिउड गायकहरूसँग गीत गाइन्। मोहम्मद रफी होस् या किशोर कुमार । उनले राज कपूरदेखि गुरु दत्तसम्म र मणिरत्नमदेखि करण जोहरसम्म सबै प्रसिद्ध फिल्म निर्देशकसँग काम गरेकी थिइन्।

लता एक यस्तो गायिका थिइन् जसले प्लेब्याक गायनमा पुरुषहरूलाई चुनौती दिइन्। उनले मोहम्मद रफीजस्ता आफूभन्दा धेरै गीत गाउने गायकसँग बढी रोयल्टी र पारिश्रमिक मागेकी थिइन्, जुन उनले पाइन् पनि।

एक पटक उनले भनेकी थिइन्, “आज म जे छु, मेरो मेहनतले गर्दा हो । आफ्नो अधिकारका लागि लड्न सिकेकी छु । मलाई कसैको डर लाग्दैन । म धेरै साहसी छु। तर आज जति पाएकी छु, त्यो पाउँछु भन्ने मैले कहिल्यै सोचेकी थिइनँ ।”

बलिउडका प्रसिद्ध लेखक तथा कवि जावेद अख्तरले लता मंगेशकरको मधुर स्वर र आध्यात्मिक गायनको प्रशंसा गर्दै भने, “उनको स्वर मोतीजस्तै शुद्ध र क्रिस्टलजस्तै स्पष्ट थियो।”

एक पटक जब लतालाई बलिउडमा उनको कुन गीत लोकप्रिय छ भनी सोधिएको थियो, उनले भनिन्, “मोहब्बत के नगमे” बढी लोकप्रिय थिए। हिरोइनहरू दौडिरहेका छन्, नायकहरू तिनीहरूको पछि दौडिरहेका छन्।

उनले गाएका फिल्मी गीतहरू बाहेक, उनको गायनको सङ्कलन निकै शानदार थियो। लता विश्व प्रसिद्ध सङ्गीतकारहरू, मोजार्ट, बिथोवेन, शपिन, नेट किंग कोल, बीटल्स, बारब्रा स्ट्रिस्यान्ड र ह्यारी बेलाफोन्टेद्वारा रचिएको सङ्गीत सुन्न मन पराउँथिन्।

एक पटक उनी जर्मन–अमेरिकी अभिनेत्री मार्लेन डिट्रिचको स्टेजमा प्रस्तुति हेर्न विदेशसमेत गएकी थिइन्। उनलाई स्विडिस अभिनेत्री इन्ग्रिड बर्गम्यानका नाटकहरू हेर्न पनि मन पर्थ्यो।

लतालाई फिल्म हेर्न पनि मन लाग्थ्यो । उनको मनपर्ने हलिउड फिल्म द किंग एन्ड आई थियो। लताले एक पटक यो फिल्म कम्तिमा १५ पटक हेरिसकेकी थिइन् । उनको दोस्रो मनपर्ने हलिउड फिल्म सिङ्गिङ इन द रेन थियो।

कार, ​​कुकुर र क्रिकेटको सौखिन

लतालाई पनि कारको निकै सोख थियो । आफ्नो जीवनमा विभिन्न समयमा उनले खैरो हिलम्यान र नीलो शेभरोलेट कार राखेकी थिइन्।

यसबाहेक उनीसँग क्रिसलर र मर्सिडिज कार पनि थियो । लता मंगेशकरको घरमा नौ कुकुर थिए । उनलाई क्रिकेट पनि निकै मन पर्थ्यो ।

उनी प्रायः रेकर्डिङबाट ब्रेक लिएर टेस्ट म्याच हेर्ने गर्दथिन् । लताले गर्वका साथ उनीसँग सर डन ब्राडम्यानको अटोग्राफ थियो भन्थिन् । 

खाना पकाउने र फोटो खिच्ने उनको रुचि थियो। सुरुमा उनीसँग रोलिफ्लेक्स क्यामेरा थियो। छुट्टीमा अमेरिका जाँदा रातभर स्लट मेसिनमा खेल्थिन् ।

अल्बर्ट हलमा रेन अर्केस्ट्रासँग गाउँदै

लता मंगेशकरलाई आफ्नो फुर्सदको समयमा शास्त्रीय सङ्गीतकार पण्डित रविशङ्करको स्टुडियोमा घुमेको पनि भेट्न सकिन्थ्यो। त्यहाँ पुगेपछि उनले पण्डित रविशङ्करका साथी जर्ज ह्यारिसनलाई पनि भेटिन् । ह्यारिसन इङ्गल्याण्डको प्रसिद्ध पप समूह बिटल्सका चर्चित गिटारवादक थिए।

सन् १९७९ मा लताले बेलायतको विश्व प्रसिद्ध रोयल अल्बर्ट हलमा रेन अर्केस्ट्रासँग गाउने मौकासमेत पाएकी थिइन्। यस्तो मौका पाउने उनी पहिलो भारतीय थिइन् ।

लता मंगेशकरले एकपटक भनेकी थिइन्, “म सधैँ विश्वास गर्छु कि खुशी संसारसँग बाँड्नुपर्छ, दुःख सधैँ एक्लै सहनुपर्छ।”

लता मंगेशकरद्वारा गाइएका सदाबहार गीतहरूले करोडौँ भारतीयहरूको जीवनमा आनन्द ल्यायो र नसरीन मुन्नी कबीरले भनेजस्तै, “लताका गीतहरू करोडौँ भारतीयको जीवनको सङ्गीत बन्यो ।”