काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ४६ बलमा ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३० बलमा ६० रनको योगदान दिए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २० रन जोडे । यस्तै कुशल मल्लले ७ बलमा ३ छक्का प्रहार गर्दै १८ रनको योगदानी दिए ।
यस्तै नेदरल्याण्डका लागि भिभियन किङ्ग्मा र पिटर सिलरले दुई/दुई विकेट लिए भने बास डे लिडे र आर्यन दत्तले एक/एक विकेट हात पारे ।
नेपालले मंगलबार टी–२० अन्तर्राष्ट्रिय म्याचमा दोस्रो उच्च स्कोर खडा गरेको हो ।
यसअघि सन् २०१९ मा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो ।











