पार्टी फुटको संघारमा पुगेर निराश बनेका नेकपा एमालेका तामम कार्यकर्ताहरुलाई बुधबार अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको अचानक जुरेको संवादले आशाको किरण पलाएको महसुस गराएको थियो । तर बुधबारदेखि तरंगित खबरले अघि अपरान्ह भने खुशीको सञ्चार गर्न सकेन ।
जब आज पनि उनीहरु दुवै जना राजधानीको पाँचतारे होटल, मेरियटमा अपरान्ह २ बजे बसे त्यसले केही न केही खुशीको सञ्चार गराएकै थियो । वार्तामा दुई नेता बसे रे भन्ने खबर सँगै अर्काे एक रोमाञ्चक मोडको तस्विर पनि नेपालका विद्युतीय छापाहरुमा छ्याप्छ्याप्ती छायो ।
त्यसले झनै उत्साहित बनाएको थियो कार्यकर्ताहरुलाई । किनभने त्यो फोटोमा कुनै तनाव र बेमेल देखापर्दैनथ्यो । बरु रिल्याक्सड् मुड दुवै नेतामा देखिन्थ्यो ।
कतिपय नेताले त्यसलाई दुइ जनाले नै धरहरा नियालेको भनेर क्याप्सन लेखेपनि राजधानी उपत्यकाको क्षितिज नियालेको त्यो फोटोले कतैबाट नेगेटिभ सन्देश दिन खोजेको थिएन । तर पनि नेतृत्वको झगडाले आहत भएका कार्यकर्ताले यसैलाई ‘आइस ब्रेक’ को संज्ञा दिन चाहे, दिए ।
तर त्यो आइसब्रेक रहेन । बरु बुधबारको करिब दुई घण्टाको भलाकुसारीको समेत आज बिट मरेको माधव नेपालको प्रतिक्रियाले दियो । हुनत ओली र नेपाल दुवैले वार्ताबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएनन् । तर, आफू निकटका नेता कार्यकर्ताहरुलाई माधव नेपालले दिएको ‘ब्याक टु मंगलमान’ भन्ने प्रतिक्रियाले कुराकानीले एजेण्डको कुनै मेलो नसरेको छनक भने स्पष्टै दिन्थ्यो ।
हो, हिजोको तुलनामा कुराकानीको मेला आज झन् सरेन । वार्ता सकिएपछि नेपालले एउटा प्रतिक्रिया दिए जसले ब्याक टु मंगलमान अर्थात् हिजो वार्ता अघि जे अवस्था थियो, आज पनि त्यही रहेको रुपमा कार्यकर्ताले लिए । त्यहाँ उपस्थित संवादातालाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भने– ‘हिजो थोरै आशावादी थिएँ, आज तिक्ततापूर्ण कुरा भयो । भन्न मिल्ने गरी कुनै पनि प्रगति छैन ।’ उनको शब्द र ती शब्दको अभिव्यक्तिमा निधारमा परेका गाँठाको आंकलनले यत्ति सार खिच्न सकिन्छ कि दुई दिनको वार्ताबाट ठोस परिणाम निस्केन ।
समाचार स्रोतले भन्यो हिजो त बरु सतहमा आफ्ना विगतका असन्तुष्टिहरु राख्ने काम भएको थियो तर आजको वार्तामा भने दुवै नेताले आआफ्नै अडानलाई दोहो¥याएका छन् । नेपालले भोली हुन लागेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक रोक्न माग गरे ।
अनि उनले २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन पनि माग गरे । त्यस्तै त्यस अघि २०७७ चैत २८ गतेसम्म र त्यसयताका सबै निर्णय खारेज गर्न ओली समक्ष माग गरे ।
तर पनि ओलीले भने यसअघिकै अडान दोहोराए । उनले आफूलाई कुनै पनि सर्त मन्जुर नभएको बताए । ओलीले उल्टै गुट खोल्ने भनेर माधव नेपाललाई हप्काएका थिए । ओलीको निष्कर्ष यो थियो कि गल्ती महसुस गरेर आए पार्टीमा ठाउँ दिन सकिन्छ, त्यस बाहेक अरु हिसाबबाट कुनै स्पेस कतै दिन सकिँदैन ।
ओली निकटका एक नेताले भने– आजको वार्ता खासमा बादलमा पुगेर रोकिएको थियो । बादलहरुको स्पेस पार्टीमा के हुन्छ भनी माधव नेपालले सोधेका थिए । ओलीले भनेका थिए– मैले जे दिन्छु त्यही हुन्छ । अनि फेरि नेपालले सोधे त्यसो भए यहाँले के दिनुहुन्छ त ? ओलीले भने जे चाह्यो त्यही दिन्छु नि ।
किन ? माधवले सोधे । किनभने उनीहरु आगलागीबाट बँचेका पालुवा हुन्, मैले सक्नेजति सुरक्षा दिनुपर्छ । अनि माधवले भने– ए त्यसो भए एमालेमा मेरो स्थान बादलको भन्दा पनि तल हुने भयो ? तलमाथि थाहा छैन, तपाईँ आउने हो भने सबै कुरा बिर्सिएर पार्टीमा फर्किनुस् तर कुनै शर्त लागू हुदैन ।
ओलीको निष्कर्ष यो थियो कि रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीहरु प्रचण्डका कारण आगलागीमा परेका हुन् । अनि उनीहरुले माधव नेपाल, प्रचण्डहरुले आफूलाई साधारण सदस्यबाट निकाल्दासम्म पनि अप्ठेरोमा साथ दिएका थिए । त्यसैले बादलहरुलाई एमालेमा स्थान दिनुपर्छ ।











