• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

विदेशस्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी उत्पादन



काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासबाट विद्युतीय राहदानी उत्पादन भएको छ । परीक्षणका रुपमा आज दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतापूर्वक उत्पादन भएको राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । आजदेखि विद्युतीय राहदानीका लागि कतारस्थित नेपाली राजदूतावासले बुकिङ खुला गरेको छ । विभागले सुरुको एक हप्ताका लागि मात्र बुकिङ खुला गरिएको जनाएको छ ।

विभागले अन्य खाडी मुलुक र मलेशियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीका लागि आवश्यक उपकरण पठाइसकिएको र ती सामान जडान हुनासाथ केही दिनभित्रै विद्युतीय राहदानीको सेवा सुरुआत हुने बताएको छ ।

विभागका अनुसार अन्य मुलुकमा रहेका सबै नेपाली नियोगमा उपकरण पठाउने कार्य भइरहेको र केही सातभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालय र पाँच वटा इलाका प्रशासन कार्यलय गरी ४१ स्थानबाट विद्युतीय राहदानीका लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।

विभागले अन्य जिल्लामा तीन वटा प्राविधिक टोलीले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरिरहेको जनाएको छ ।