• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

गत आर्थिक वर्षमा सचिव, सहसचिवसहित २१५ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा १ सचिव र १० सहसचिवसहित २ सय १५ अधिकृतस्तरका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष ०७९/८० मा एक सचिव, १० सहसचिव, ५८ उपसचिव र एक सय ४६ शाखा अधिकृतलाई प्रतिवादी बनाएर विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा ५ जना सहसचिव, १२ जना उपसचिव र १७ जना शाखा अधिकृतविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको छ । यस्तै १ सहसचिव, २ उपसचिव र ६ जना शाखा अधिकृतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनमा अभियोग दायर भएको छ ।

घुस रिसवतमा १३ जना शाखा अधिकृतसहित १ जना उपसचिवविरुद्ध अभियोग लागेको अख्तियारले जनाएको छ । गैरकानूनी लाभहानीमा २ जना सहसचिव, ३० जना उपसचिव र ९१ जना शाखा अधिकृत परेका छन् ।

यस्तै, एक सय १० नायब सुब्बा, ३० जना खरिदारविरुद्ध पनि अभियोग दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यसबाहेक निर्वाचित र मनोनीत गरी कूल २०९ जनप्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले जारी गरेको तथ्यांकमा गत आर्थिक वर्षमा एक सय ६२ वटा मुद्दा दायर भएकामा ६ सय २२ पुरुष, एक सय ३८ महिला र ६ संस्था प्रतिवादी रहेका छन् । यस्तै, सबैभन्दा बढी गैरकानूनी लाभ वा हानीमा ३ सय ६३ पुरुष र ७६ महिला तथा सार्वजनिक हानी नोक्सानीमा एक सय १४ पुरुष र ३७ महिला प्रतिवादी रहेका अख्तियारले जनाएको छ ।