१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै



अ+ अ-

तुलसीपुर । घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ ।

सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताउनुभयो ।

“असोजमा काम सक्ने गरी सम्झौता भएको हो”, उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ ।” यसअघि चार लेनका क्रममा भत्किएको सडकलाई दुई लेनमै मर्मत गर्ने गरी काम अघि बढाइएको हो ।

हात्तीखौवाबाट गुर्जेखोलासम्मको १३ किलोमिटर सडक मर्मत कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले लिएको छ । रु एक करोड १६ लाखमा उक्त कम्पनीले ठेक्का लिएको हो ।

गुर्जेखोलाबाट बबईखोलासम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले रु एक करोड ४२ लाखमा लिएको छ । सोही कम्पनीले पनि काम सुरु गरेको छ ।

दुई लेन सडक मर्मतका लागि रु दुई करोड ५८ लाख छुट्याइएको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो । यसअघि चार लेन मर्मतका लागि भन्दै यसअघि रहेको पक्की सडक भत्काइएको थियो । जसले गर्दा बीच–बीचमा खाल्डाखुल्डी छन् ।

ती खाल्डाखुल्डीले गर्दा आवतजावतमा निकै समस्या पर्ने गरेको छ । पटक–पटक म्याद थप गर्दा पनि चार लेन निर्माणको कामले गति लिन नसकेका कारण दाङका जनताले विरोध जनाएका थिए । सोही विरोधपछि चार लेन ठेक्का तोडिएको थियो । ठेक्का तोडिएपछि सडकबीचका खाल्डाखुल्डी मर्मतको काम अघि बढेको हो ।

यअसघि विसं २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवाचोकबाट घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो ।

भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो । तर उक्त सडकको काम पेटीठेकेदारलाई जिम्मा दिइएको थियो । पाँच वर्षमा आठ जना पेटी ठेकेदार फेरिए पनि काम भने समयमा पूरा हुन सकेन ।