२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना

बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना
अ अ+ अ-

दमौली । प्राकृतिक सुन्दरता, भूबनोट र मौलिक सांस्कृतिक विशेषताले पहाडकी रानी उपनाम पाएको तनहुँको बन्दीपुर गाउँपालिकाले यहाँ पुग्ने जसलाई पनि लोभ्याउने गर्दछ । विसं २०२५ मङ्सिर १ गते सदरमुकाम दमौलीमा स्थानान्तरण हुनुअघि बन्दीपुर तनहुँ जिल्लाको सदरमुकाम पनि थियो । 

समुद्र सतहबाट एक हजार ३० मिटर उचाईमा अवस्थित बन्दीपुर मगर, गुरुङ र नेवार समुदायको कला, संस्कृति, प्यागोडा शैलीका मठमन्दिर, प्राचीन कलात्मक घर, ढुङ्गा बिछ्याइएका बाटोघाटोले आकर्षणको केन्द्रविन्दु बनिरहेको छ । पृथ्वी राजमार्गको डुम्रेबजार हुँदै दक्षिणी भागमा फैलिएको गाउँपालिकामा छ वटा वडा छन् । बन्दीपुरको कूल क्षेत्रफल १०२ वर्गकिमि हो । विसं २०६८ को जनगणनाअनुसार यहाँको कूल जनसङ्ख्या २० हजार १३ रहेको छ । 

गाउँपालिकाले पर्यटन, कृषि एवं पशुपालन र व्यापारको क्षेत्रमा ठूलो सम्भावना बोकेको छ । यहाँका बहुसङ्ख्यक बासिन्दा कृषि पेशामा संलग्न छन् । आर्थिक क्रियाकलापबाट स्थानीय वासिन्दाको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले पर्यटन, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाएको छ । राज्यका निर्देशक सिद्धान्तको आधारमा गाउँपालिकाले गर्ने विकासका योजनालाई केन्द्रित गर्न वाञ्छनीय देखिएकाले गाउँपालिकाले एकीकृत विकास गुरुयोजना बनाएर अघि बढेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा । 

“भोलिको बन्दीपुर कस्तो बनाउने भन्ने कुरा आजैबाट तयारीका साथ लाग्नुपर्दछ र त्यो तयारी स्वरुप हामीले गाउँपालिकाको बीस वर्षे एकीकृत गुरुयोजना तयार गरेका छौँ,” उहाँले भन्नुभयो, “बन्दीपुर विकासको मूल आधार नेपाली विशेषताको कृषि र प्राकृतिक तथा सांस्कृतिक पर्यटनलाई लिइएको हुँदा हामी आधुनिक कृषिप्रणाली र पर्यावरणीय पर्यटनको सङ्ख्यात्मक वृद्धिमात्र नभएर गुणात्मक विकास गर्न चाहन्छौँ ।”

अध्यक्ष थापाका अनुसार गाउँपालिकाले समग्र बन्दीपुरको विकासको सम्भावना पर्यटनबाट देखेको छ । पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसँग एकीकृत गर्न सकेमा गरिबीबाट मुक्त हुन सक्ने विश्वास उहाँको छ । गाउँपालिकाले निर्माण गरेको गुरुयोजनाले पर्यटन, कृषि तथा पशुपंक्षीपालन, लघुउद्यम, भौतिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकीकृत गर्दै समृद्ध बन्दीपुर र सुखी बन्दीपुरवासीको परिकल्पना गरेको थापाले बताउनुभयो । 

गाउँपालिकाले संस्थागत विकास, सुशासन र सार्वजनिक सेवा क्षेत्र, कानूनी तथा नीतिगत व्यवस्था उपक्षेत्र, पालिकाको संस्थागत संरचना विकास तथा सुधार उपक्षेत्र, सुशासन, पारदर्शीता र जवाफदेहिता उपक्षेत्र, आर्थिक विकास क्षेत्र, कृषि, बागवानी, पशुपंक्षीपालन उपक्षेत्र, जनपर्यावरणमैत्री पर्यटन विकास उपक्षेत्र, उद्योग व्यवसाय प्रबद्र्धन र उद्यमशीलता विकास उपक्षेत्र, सामाजिक विकासका लागि सार्वजनिक उत्तरदायित्व क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, युवा, खेलकूद र संस्कृति लगायतलाई आधार मानेर गुरुयोजना बनाएको छ । 

पर्यटन तथा सत्कार उद्योग क्षेत्रलाई बन्दीपुर गाउँपालिकाले आर्थिक समृद्धिको महत्वपूर्ण अवसरका रुपमा लिएको छ । अठारौँ शताब्दीतिर हालको गण्डकी प्रदेशमा रहेका विभिन्न ससाना राज्यले भोटदेखि भारतसम्म व्यापार गर्ने नाकाका रुपमा बन्दीपुर बजार विकास भएको मानिन्छ । विशेषगरी दुई सयवर्षको हाराहारीमा निर्माण गरिएका घर सांस्कृतिक धरोहरका रुपमा रहेका छन् । 

“पर्यटनका माध्यमबाट रोजगारीका अवसर वृद्धि गरी जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएका छौ,” गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले भन्नुभयो, “त्यसका लागि पर्यटन पूर्वाधार निर्माण अहिलेदेखि नै शुरु भइसकेको छ ।” बाह्य पर्यटकको सम्भावना अनुरुप वृद्धि हुने पोखरा र चितवन गन्तव्यलाई लक्षित गरी आउने पर्यटकमध्ये ३० प्रतिशतको अतिरिक्त गन्तव्यका रुपमा बन्दीपुरलाई पाँच दिनको पर्यटन बसाइ स्थलका रुपमा विकास गर्ने परिकल्पना गरिएको गुरुङ बताउनुहुन्छ । 

पर्यटन र अतिथि सत्कार क्षेत्रको व्यावसायिक विकास गरी पाँच वर्षको अवधिमा कम्तिमा दश हजार मानिसका लागि थप प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । औषत वार्षिक दुई लाख २४ हजार पर्यटकले बन्दीपुरमा औषत पाँच दिन बिताउनेछन् । उनीहरुले औषत दैनिक रु पाँच हजार बराबर रकम खर्च गर्ने प्रक्षेपण छ । 

“बन्दीपुर आउने अधिकांश पर्यटक एकैदिनमा फर्किने गरेका छन्, उनीहरुलाई कम्तिमा दुई रात र तीन दिन बन्दीपुरमै बस्ने बनाउन बीस वर्षे गुरुयोजना बनाएर अगाडि बढेका छौँ,” उहाँले भन्नुभयो, “त्यसका लागि पर्यटकीय पूर्वाधार पहिलो शर्त हो ।” गाउँपालिकाले बन्दीपुर गाउँपालिका–४ र ५ जोड्न रानीवन क्षेत्रमा साइकल लेन निर्माण गरेको छ । मगर र गुरुङ गाउँलाई जोड्न र पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले ९ किमि साइकल लेन निर्माण गरेको छ । साइकल लेन मार्फत् वडा नं ४ को गुरुङ जातिको कोरिखा होमस्टे र वडा नं ५ को मगर जातिको रामकोट होमस्टे जोडिन्छ । 

गाउँपालिकाले टुँडिखेलमा शिशाको दृश्यावलोकन विन्दु निर्माण गर्ने तयारी गरेको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकन विन्दु निर्माण गरिनेछ । चीनको ग्रेटवालको झल्को दिने गरी गाउँपालिकाले मिनी ग्रेटवाल पनि निर्माण गरिरहेको छ । गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालू आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । 

 गत वर्ष रु ७० लाख खर्च भएकामा चालू आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ । कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ । 

निर्वाहमुखी कृषिमा आश्रित जनसङ्ख्यालाई व्यावसायिक योजनाअनुसार कृषि, बागवानी र पशुपंक्षीपालनमा अगाडि बढाउने गाउँपालिकाको सोच रहेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी बताउनुहुन्छ । त्यसका लागि गाउँपालिकाले योजना बनाएको छ । कृषि, बागवानी र पशुपंक्षीपालनको व्यावसायिक विकास गरी वार्षिक औषत प्रतिव्यक्ति आय रु ७५ हजार लाई बढाएर दोब्बर पु¥याउने र त्यसका लागि हरेक वडामा कम्तिमा १० उत्पादन वस्तुका आधारमा पकेट क्षेत्र निर्माण गरिने सुवेदीले जानकारी दिनुभयो । 

हरेक उत्पादन समूहका लागि वस्तुको गुणस्तरीय उत्पादनका लागि क्षमता अभिवृद्धि गरिने र उत्पादनवस्तुको सहज र गुणस्तरीय रुपमा उपभोक्ता समक्ष पु¥याउने गरी बजार श्रृङ्खलाको सबलीकरण गर्ने योजना छ । गुरुयोजनामा गाउँपालिकाले परिकल्पना गरेका सडक सञ्जाललाई मापदण्डयुक्त र वातावरणमैत्री बनाउने सोच राखिएको छ । सडक सञ्जालको लक्ष्य भनेको हरेक नागरिकलाई कम्तिमा आफ्नो घरबाट २० मिनेटको पैदलयात्रापछि मोटरयात्राको अवसर प्रदान गर्नु रहेको छ । 

बन्दीपुर विकास गुरुयोजना निर्माण समितिका अध्यक्ष हेमराज लामिछानेले समृद्धि र विकास सबैको चाहना भएपनि चाहनाले मात्रै पूरा नहुने भएकाले गुरुयोजना बनाएर अगाडि बढ्न खोजिएको बताउनुभयो । “तत्कालीन, मध्यकालिन र दीर्घकालीन योजना कार्यान्वयनका लागि बजेट, लागू गर्ने निकाय, कार्यक्रम, अनुगमन, मूल्याङ्कन र पुनःवस्तुवादी योजना निर्माण गरी सबैको उचित समायोजनमा मात्रै समृद्धि हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो । (रासस, कृष्ण न्यौपाने)