३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी

गोठबाट पर्यटकीय बस्तीमा विकास भएको घोडेपानी
फाईल फोटो
अ+ अ-

म्याग्दी । करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’ पोखरा हुँदै मुस्ताङ नून ढुवानी गर्नेहरुका लागि उकालो यात्रा गरेपछिको थकान मेटाउने ठाउँ थियो । बटुवाहरुले घोडालाई पानी खुवाउने गरेकाले यसको नाम घोडेपानी रहन गएको बुढापाका बताउँछन् ।

पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरुले घोडेपानीका टहरामा राखिएका चिया पसलमा खाजा, खाना पकाएर खाने गर्दथे । खिबाङका बासिन्दाले गाई भैंसी चराउनका लागि बनाएको गोठमा चिया पसल राखेका थिए । तिनै गोठहरुमा राखिएका चिया पसलहरुमा अहिले विशाल पर्यटकीय बस्ती बसेको छ । घोडेपानी पर्यटकीय सम्भावना र अवसरका कारण छोटो समयमै विकसित र उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुन सफल रह्यो ।

म्याग्दी घोडेपानी र त्यसको शिखरमा अवस्थित पुनहिल हिमाली दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो । तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलबाट आँखै अघि १५ बढी हिमश्रृङ्खला, म्याग्दी, पर्वत, कास्कीलगायतका जिल्लाको सुन्दर गाउँ शहर अवलोकन गर्न सकिन्छ । जङ्गलको बिचमा रहेको घोडेपानी आन्तरिक र विदेशी पर्यटक दुवैका लागि उत्तिकै आकर्षक गन्तव्य हो । घोडेपानी पुग्ने अधिकांश पर्यटकको अन्तिम गन्तव्य चाहीँ पुनहिल हो ।

यो क्षेत्र अहिले म्याग्दीको मात्रै नभई अन्नपूर्ण फेरोको फन्को मार्न आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको छ । मनोरम हिम शृङ्खलाको अवलोकन गर्न सकिने यस क्षेत्रमा राखिएका गोठहरुमा खिवाङका बलसिंह गर्वुजाले पहिलोपटक चिया पसल राख्नुभएको थियो । ‘‘यहाँ घास प्रशस्त पाइने भएकाले गोठहरु राख्ने चलन थियो, पछि गर्वुजाले चिया पसल राखे,” अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले भन्नुभयो “उनीसँगै कोबाङबाट आएका कान्छो थकाली भनेर चिनिने व्यक्तिले पनि चिया पसल गरे, यो शृङ्खला बढ्दै गएपछि होटलहरु खुल्न थालेका इतिहास छ ।”

पहिले यो क्षेत्र तीर्थयात्री र नून बोक्नेहरु उल्लेरीमा बास बसेर घोरेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । घोडेपानीको शिरमा दर्जनौं हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने डाँडो थियो । जसलाई स्थानीय समेत रहेका मेजर टेकबहादुर पुनले ‘पुनहिल’ नामाकरण गर्नुभएको थियो । स्थानीयबासीले पछि उनै पुनको स्मृतिमा पुनहिलमा भ्यू टावर निर्माण गरेका हुन् ।

स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृष्यावलोकनको लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । घोडेपानी क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शूल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु। ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । विदेशीले प्रतिव्यक्ति रु १५० र नेपालीले रु। ५० का दरले प्रवेश शूल्क तिर्नुपर्छ ।

काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाई लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरि २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यू टावर निर्माण गरिएको थियो । टावर निर्माणपछि अहिले पुनहिलमा दैनिक सयौंको सङ्ख्यामा पर्यटकहरु यहाँ पुग्ने गरेका छन् । घोरेपानी पुग्ने पर्यटकको पुनहिल नपुगी नहुने गन्तव्य बनेको छ । पर्यटक आगमन हुन थालेको छोटो समयमै यहाँको विकासले फड्को मारेको अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

सुरुआतका चिया पसलहरु अहिले प्राय: सबै सुविधा सम्पन्न होटलमा रुपान्तरण भएका छन् । पोखरा–बागलुङ–बेनी सडक नबन्दासम्म मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीहरुको गोरेटो बाटो पर्ने यस क्षेत्रमा अहिले २३ वटा सुविधा सम्पन्न होटलहरु खुलेका छन् । एक दिनमा एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् ।

हरेक वर्ष पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीले क्षमता विस्तार गर्दै लगेका छन् । सुरुआतमा विदेशी पर्यटकहरु मात्रै आउने गरे पनि पछिल्लो समय भने आन्तरिक पर्यटक पनि उत्तिकै संख्यामा आउने गरेका घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो । “पर्यटन विकासमा सहयोगी बन्छ भन्ने उदाहरण घोडेपानी हो, घुम्न आउने विदेशी पर्यटकहरुले आफ्नो देश फर्किएपछि यहाँको सुन्दरताको बारेमा गर्ने सकारात्मक सन्देश प्रवाहले पनि यस क्षेत्रको पर्यटन विकासमा ठुलो सहयोग गर्‍यो,” उहाँले भन्नुभयो । अन्नपूर्ण संरक्षण आयोजनाले समेटिएपछि यस क्षेत्रको बारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको थियो ।

घोडेपानीका होटलमा अर्गानिक खानाका परिकार, सुविधा सम्पन्न कोठा, इन्टरनेटलगायतका सुविधा उपलब्ध छ । पहाडको टाकुरामा अवस्थित घोरेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकहरुको लागि होटल व्यवस्थापन उपसमितिकै पहलमा झण्डै रु। एक करोडको हाराहारीमा लगानी गरी पदमार्ग निर्माण गरिएको छ । पर्वतको चित्रे हुँदै म्याग्दीको घोरेपानी, घोरेपानीदेखि पुनहिल र घान्दु्रक जाने पदमार्गहरुमा चिटिक्क मिलेको सिंढी चिनेर पदमार्ग बनाइएको छ ।

घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील पुनका अनुसार समुदाय स्तरबाट पदमार्गसँगै तीन ठाउँमा सार्वजनिक शौचालय, विभिन्न ठाउँमा प्रवेशद्वार समेत निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा घोडेपानी आउने पर्यटकको बसाई लम्बाउन गुराँस पार्क, घोडा र साइकल मार्ग बनाइएको उपाध्यक्ष पुनले बताउनुभयो । यहाँ पर्यटकहरुलाई थप व्यवस्थित र आकर्षित गर्न पदमार्गमा नियमित सरसफाई र मर्मतको व्यवस्था गरिएको छ भने गाउँलाई प्लाष्टिक मुक्त बनाइएको छ ।

घोडेपानीमा बास बसेका पर्यटकहरु करिब एक घन्टाको पैदल यात्रापछि पुनहिलमा पुगेर मनोरम हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् । गुर्जा हिमालदेखि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े निलगिरि लगायतका दर्जनौं हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता हो । वरिपरि जंगलको बिचमा रहेको अग्लो डाँडामा बनाइएको भ्भू टावरबाट एकै नजरमा सेताम्मे हिमशृङ्खलाको अवलोकन गर्दा पर्यटहरु लोभिएर फर्कने गरेका छन् ।

पुनहिलको भम्रणमा पहिलोपटक आएकी फ्रान्सका पिटरले पुनहिलबाट देखिएको दृष्यले आफूलाई निकै लोभ्याएको बताउनुभयो । फेरि पनि यस क्षेत्रको भम्रणमा आउने इच्छा जागृत भएको प्रतिकृया दिनुभयो । “यस्तो मनमोहक ठाउँमा म पहिलोपटक आएकी हुँ, एकै ठाउँबाट यति धेरै हिमाल देख्न पाइने, लालीगुराँसको जङ्गलमा रमाउँदा समय गएको थाहा नै नपाइने रहेछ,” उहाँले भन्नुभयो ।

आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको श्रृङ्खलामा पर्ने झण्डै २० बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिने पुनहिलमा चैत्र/वैशाखमा ढकमक्क फुल्ने थरिथरिका लालीगुराँस र पुस/माघमा पर्ने सेताम्मे हिउँमा समेत पर्यटकको भिड लाग्ने गरेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बीरेन गर्बुजा पुन बताउनुहुन्छ ।

वसन्त ऋतुमा घोडेपानी सेरोफेरो ढकमक्क फुलेका गुराँसे रङ्गीन बन्छ । जङ्गललाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गर्छ । नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये घोडेपानी क्षेत्रको जङ्गलमा रातो, सेतो, गुलाबी लगायत आठ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिनामा दैनिक पाँच सय जनाको अनुपातमा विदेशी भित्रने गरेका छन् ।

पर्यटकीय नगरी पोखरादेखि नयाँ पुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । त्यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाडाँ भएर घोडेपानी पुग्न सकिन्छ । कास्कीको बिरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फुलवारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिने गरि पदमार्गहरु सञ्चालनमा छन् । रासस