२१ श्रावण २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण दुर्गममा लगानी सुरक्षा र विद्युत रोयल्टी बाँडफाँटमा देखिएका समस्या समाधान गर्न सांसद कँडेलको जोड अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको असन्तुष्टि, सुरक्षाकर्मीको व्यवहारमा सुधार गर्न माग स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार सेवाका लागि डा. नवराज जोशीलाई फोकल पर्सन तोक्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहमा घटे पर्यटक



फाईल फोटो
अ+ अ-

चितवन । सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।

पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ-मुग्लिन, मुग्लिन-नौबीसे र नारायणगढ-बुटवल सडक खण्डमा मर्मत तथा बिस्तारले यातायात असहज बनेको छ । पोखराबाट आउनेका लागि मुग्लिन(पोखरा खण्ड पनि बिस्तारले अवरुद्ध भइरहेको छ

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ । जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो । सडकको दयनीय अवस्था, महङ्गो हवाई भाडालगायतले पर्यटकको सङ्ख्या कम भएको उहाँको बुझाइ छ ।

उहाँका अनुसार एउटा विदेशी पर्यटक काठमाडौँबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ । आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ । निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ । विदेशका लागि निकुञ्ज प्रवेशमा रु दुई हजार खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जीप सफारीका लागि रु दुई हजार खर्च लाग्छ ।

सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि सङ्घले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताउनुभयो । विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उहाँको भनाइ छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउनुहुन्छ । विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भएपनि यसवर्ष अझै पर्यटक नआएको बताउनुहुन्छ ।

युनाइटेड हात्ती सहकारी संस्था लिमेटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै नभएको बताउनुहुन्छ । उहाँको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’ समेत पाउन नसकेको अवस्था छ । “दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व सुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ”, उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ । बाटो र पुलहरु धेरै बिग्रिएका ठाउँ बाहेक अन्यत्र खुल्ला गर्न लागिएको उहाँको भनाइ छ । रासस