• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान



काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आज पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनाको श्रीपद भत्ता रकम प्रदान गर्नुभयो ।

महानगरपालिकाले श्रीकुमारीलाई मासिक १८ हजार रुपैयाँ, श्रीगणेश र श्रीभैरवलाई मासिक १५ हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । आर्थिक वर्ष २०७०/०७१ देखि पूर्व श्रीकुमारी, श्रीगणेश र श्रीभैरवलाई श्रीपद भत्तावापत रकम उपलब्ध गराउन थालेको हो । शुरुवात्मा पूर्वकुमारीलाई मासिक १० हजार रुपैयाँ, पूर्व गणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले एक बर्षमा हुन आउने एकमुष्ट रकमसहित सम्मान गर्न थालेको हो ।

श्रीपद भत्ता प्राप्त गर्ने पूर्व श्रीकुमारीहरुमा वि. सं. १९९९ सालमा जीवित देवीका रुपमा प्रतिस्थापित हुनुभएकी नानीशोभा शाक्यदेखि २०७४ सालसम्म प्रतिस्थापित हुनुभएकी मतिना शाक्यसम्म गरी ९ जना हुनुहुन्छ । कार्यक्रममा ज्येष्ठ उमेरका कारण नानीशोभा (वि. सं. १९९९ — २००६) उपस्थित हुन सक्नु भएन । हर्षलक्ष्मी शाक्य (वि. सं. २०१२ — २०१८) र प्रीति शाक्य (वि. सं. २०५८ — २०६५) देश वाहिर रहनु भएकोले उपस्थित हुन सक्नुृ भएन । उहाँहरुको भत्ता प्रतिनिधिले बुझ्नु भएको थियो । कार्यक्रममा नानीमैयाँ शाक्य (वि. सं. २०१८ — २०२६), सुनिना शाक्य (वि. सं. २०२६ — २०३५), अनिता शाक्य (वि. सं. २०३५ — २०४१), रश्मिला शाक्य (वि. सं. २०४१ — २०४८), अमिता शाक्य (वि. सं. २०४८ — २०५८) र मतिना शाक्य (वि. सं. २०६५ — २०७४) उपस्थित भएर भत्ता रकम ग्रहण गर्नुभयो ।

वर्तमान श्रीकुमारी (२०७४ सालदेखि) तृष्णा शाक्य हुनुहुन्छ । वर्तमान कुमारीलाई महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ मासिक सहयोग उपलब्ध गराउने गरेको छ । यस्तै कुमारीका चिताइदार ज्ञानदेवी शाक्यलाई पूजा खर्च र मासिक पारिश्रमिक गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

पूर्व श्रीगणेशमध्ये कन्हैया शाक्य (वि. सं. २०३४ — २०४२) उपस्थिति हुनुभएन । गणेश शाक्य (वि. सं. २०१२ — २०२४), पुरुषोत्तम शाक्य (वि. सं. २०२४ — २०३४), सञ्जु शाक्य (वि. सं. २०४२ — २०४६), प्रमनराज शाक्य (वि. सं. २०४६ — २०५७), कपिलरत्न शाक्य (वि. सं. २०५७ — २०६७), संवेग शाक्य (वि. सं. २०६७ — २०७७) आफैँ उपस्थित भएर भत्ता रकम ग्रहण गर्नुभयो ।

भैरवतर्फ इन्द्रबहादुर शाक्य (वि. सं. २००६ — २०१४), शुभरत्न शाक्य (वि. सं. २०१४ — २०२४), बालपुरुषोत्तम शाक्य (वि. सं. २०२८ — २०३७), श्याम शाक्य (वि. सं. २०३७ — २०४४), भैरव शाक्य (वि. सं. २०४४ — २०५६) र रुजन शाक्य (वि. सं. २०६५ — २०७७) उपस्थित भएर भत्ता रकम ग्रहण गर्नुभयो । राजु शाक्य (वि. सं. २०५६ — २०६५) भने देश वाहिर रहनुभएकोले उपस्थित हुन सक्नुभएन ।

भत्ता रकम प्रदान गरिसकेपछि बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, पूर्व श्रीहरुको आवास व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले प्रयास गरिरहेको उल्लेख गर्नुभयो । जीवन्त सांस्कृतिक तथा सामाजिक परम्पराको निरन्तरताका लागि जीवित देवदेवीका रुपमा प्रतिस्थापित रहनुभएका श्री र उहाँहरुको परिवारको योगदान अमूल्य छ । परम्परा जोगाउन महानगरपालिकाले सरकारका तर्फबाट पूरा गर्नु पर्ने दायित्व पूरा गर्नेछ ।

पूर्व श्रीहरुको सहजताका लागि बैङ्क खाता खोलेर रकम उपलब्ध गराउने योजना बनाएका छौँ । कार्यक्रममा हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले, जीवित देवी देवताका रुपमा रहनु भएका श्रीहरुको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालयसँग छलफल भएको र सम्झौता हुने प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।