२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई



अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।

करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैङ्गिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आउनुभएका शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारको राशि रु एक लाख ५१ हजार रहेको छ ।

नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिताको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उहाँको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।

विसं २०५२ देखि विभिन्न मिडियामा काम गर्दै आउनुभएका निर्मला शर्मा पछिल्लो समय समकोण टिभी कार्यक्रमको उत्पादक तथा प्रस्तोता हुनुहुन्छ । शर्मासँग विगत २८ वर्षदेखि निरन्तररूपमा विभिन्न सञ्चार माध्यममा रिपोर्टर हुँदै सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।

उहाँले श्री सगरमाथा र एभरेष्ट हेराल्ड राष्ट्रिय दैनिक पत्रिकाको रिपोर्टर, रेडियो नेपाल र रेडियो नेपालको घटना र विचार कार्यक्रमको रिपोर्टर, सारथी साप्ताहिक तथा रेडियो सगरमाथामा लामो समय रिपोर्टर भई काम गर्नुभएको थियो ।

कान्तिपुर एफएम र उज्यालो एफएफमा पनि दुई वर्ष साप्ताहिकरूपमा कार्यक्रम चलाउनुभएका शर्माले पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज दैनिकको संवाददाता भएर केही वर्ष काम गर्नुभएको थियो ।

हाल उहाँ खोज पत्रकारिता केन्द्रको उपाध्यक्ष, दक्षिण एशियाली पत्रकार महिला सञ्जाल ९स्वाम० नेपालको अध्यक्ष र नेपाल पत्रकार महासङ्घको सल्हाहकार पनि हुनुहुन्छ ।

महिला पत्रकारहरूको साझा संस्था सञ्चारिका समूहको दुई कार्यकाल अध्यक्ष भएको बेला देशभरिका पत्रकारितामा महिलाहरूको सङ्ख्या बढाउनका लागि तालिम र गुणात्मक वृद्धिका लागि पनि उहाँसँग काम गरेको अनुभव छ । उहाँ महिला खबर डटकमको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

उहाँले २०६२/६३ को जनआन्दोलनमा जनअधिकार र प्रेस स्वतन्त्रताका लागि पत्रकार महासङ्घको केन्द्रिय सदस्य र दक्षिण एसियाली पत्रकार सङ्गठनको महासचिवको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

साथै उहाँले विभिन्न दैनिक, साप्ताहिक, म्यागेजिन र अनलाइनमा समसामयिक विषयमा लेख लेख्दै आउनुभएको छ ।

काउन्सिलले विसं २०५७ सालमा पहिलोपल्ट यो पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीलाई प्रदान गरेको थियो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापा र त्यसअघि काउन्सिलका संस्थापक समेत रहनुभएका अग्रज पत्रकार भारतदत्त कोइरालाले प्राप्त गर्नुभएको थियो ।

प्रेस काउन्सिलबाट उक्त पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुनुहुन्छ ।

प्रेस काउन्सिल स्थापनाको ५४ वर्ष पुगेको अवसरमा यही असोज ६ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा शर्मालाई उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

सोही दिन यो वर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत, सशक्त सञ्चारकर्मी, आचारसंहितासहितका पुरस्कारसमेत प्रदान गरिनेछ । साथै पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउनुहुने विभिन्न पत्रकारलाई सम्मानसहित वार्षिकोत्सव मनाउने तयारीसमेत भइरहेको छ । रासस