२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरामीको ज्यान जोगाउँदै सङ्क्रमित स्वास्थ्यकर्मी



अ+ अ-

भेषराज बस्नेत

राँझा । कोरोना सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत ७३ स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित हुन पुगेका छन् । कोभिड–१९ को दोस्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको सङ्क्रमण उल्लेख्यरूपमा देखापरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार यही वैशाख १ गतेदेखि आजसम्म ७३ स्वास्थ्यकर्मी र कर्मचारीमा सङ्क्रमण पुष्टि भएको छ । नर्सिङ स्टाफ ३३, चिकित्सक आठ, प्यारामेडिक्स आठ, सहायक कर्मचारी २२ र प्रशासनसँग आबद्ध दुई गरी अहिलेसम्म ७३ जना सङ्क्रमित भएका छन् ।

कैयौँ नर्सिङ स्टाफ सङ्क्रमित भएर पनि आफूजस्तै सङ्क्रमितको उपचारमा खटिएका छन् । आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिएका सबै कर्मचारीप्रति अस्पतालले आभार प्रकट गरेको छ । भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा सङ्क्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । करिब १० स्टाफ नर्स आफैँ सङ्क्रमित भएर पनि अरु बिरामीको उपचारमा खटिएको अस्पतालका प्रमुख डा थापाको भनाइ छ । 

सो अस्पतालमा कोरोना बिरामीका लागि १४२ श्यया छुट्याइएकामा सङ्क्रमितको चाँपसँगै त्यसलाई बढाइएको छ । अहिले भेरीमा २१२  बिरामी छन् । श्यया बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि सङ्क्रमित भएपछि समस्या भएको छ । पाँच स्टाफ नर्सले १०० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो ।

उहाँका अनुसार दुई दिनअघि भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन, मेडिकल अधिकृत १०, नर्सिङ अधिकृत दुई, ल्याब टेक्निसियन पाँच र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।

मृतकको सङ्ख्या सय नाघ्यो

बाँकेमा कोरोना सङ्क्रमणका कारण १०० भन्दा बढीको ज्यान गएको छ । कोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप छ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् ।

गए राति ९ः०० देखि बिहान ५ः३० बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी छ सङ्क्रमितको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यही वैशाख १२ गते पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ निवासी ५८ वर्षीया महिलाको गए राति ९ः०० बजे मृत्यु भएको छ ।

यसैगरी भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको गए राति करिव ९ः०० बजे नै मृत्यु भएको थियोे ।

यसैगरी भेरी अस्पतालमा नेपालगञ्ज–९ निवासी ४२ वर्षीय पुरुषको राति १०ः०० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–८ निवासी ३२ वर्षीय पुरुषको भेरी अस्तालमै उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको छ ।

पछिल्लो पटक शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज–५ निवासी ५५ वर्षीय पुरुषको बिहान ५ः३० बजे मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १०९ जनाको मृत्यु भएको छ । रासस