२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र देउवा मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेका छन् — वरिष्ठ नेता पौडेल (अन्तर्वार्ता)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने कर्तव्यबाट विपक्षी दल नेपाली कांग्रेस च्युत भएको टिप्पणी उहाँले गर्नुभयो । 

उहाँले पार्टीले संस्थागत रुपमा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसक्दा पनि नेतृत्वले त्यस तर्फ पहल कदमी नगरेको भन्दै उहाँले राज्यसत्ता र पार्टी सत्ता दुवैको नेतृत्वमा रहेकाहरुबाट लोकतान्त्रिक विधि र प्रक्रियालाई उलंघन गर्ने काम गरेको  टिप्पणी गर्नुभयो । बिहिबार बिहान न्युज एजेन्सी नेपालसंग कुरा गर्दै उहाँले सरकारको मात्रै नभई पार्टी नेतृत्वको पनि चर्को आलोचना गर्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा पार्टीको अस्तित्व नै समाप्त पार्ने दिशामा अग्रसर भएको आरोप लगाउनुभयो । उहाँले गण्डकी प्रदेश संसदमा सत्तारुढ दलले गरेको घृणित कामको विरोध गर्न सबैलाई अपिल पनि गर्नुभयो । प्रस्तुत छ, नेता पौडेलसँग न्यूज एजेन्सी नेपालले गरेको अन्तरवार्ता ।

कोभिड १९ को दोश्रो लहर चलेको छ । सरकारको तयारीबारे तपाईको प्रारम्भीक टिप्पणी के छ ?

आज भन्दा ३ हप्ता अगाडि प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलिय बैठक गर्नुभएको थियो । त्यत्तिबेला नै मैले सरकारलाई भनेको थिएँ । अब तुरुन्तै तयारीमा जुट्नुपर्यो । आईसियु, भेन्टीलेटर बढाउनुपर्यो । हस्पिटलहरुको प्रबन्ध राम्रो गराउनुपर्यो । स्वास्थ्य उपकरण, सुरक्षा उपकरणहरुको व्यवस्था तुरुन्त गरिहाल्नुपर्यो । र सिमानामा व्यवस्थित गर्ने काम सबैभन्दा पहिला ध्यान दिनुपर्यो भनेर त्यो बेलामा नै सुझाव दिएको हो । तर त्यो सुझावलाई सरकारले गम्भीरतापुर्वक लिएन । त्यसले गर्दा अहिले आईसियु वेड अभाव, भेन्टिलेटरको अभाव भईरहेको छ । सिमाबाट मानिसरहरु अन्धाधुन्ध प्रवेश गरेर, सिमानामा चेक नभएर गाउँमा पसेर रोग फैलाउने काम भईरहेको छ । यो राज्यको लापरवाही हो । यसले गर्दा जनता कोभिडको मारबाट त्रसित भएका छन् ।  

अब पार्टी राजनीतिको कुरा गरौ, एकजनामा कोभिड १९ को संक्रमण देखिएको थियो, तर ठूलो आशा गरिएको केन्द्रीय समितिको बैठक नै स्थगित भयो । के भन्नुहुन्छ ?

यो बैठकको बारेमा मेरो उपसभापतिसँग कुरा पनि भयो । मैले त्यत्तिबेलै भनेको थिएँ, सानो सानो निहुँमा महाधिवेशनको मुखमा आएर कति महत्वपुर्ण निर्णयहरु गर्नुपर्नेछ । महाधिवेशनलाई असर पार्ने कुराहरु छन् अहिले मिटिङ किन स्थगित गर्ने भन्दाखेरी उहाँहरुले तपाई संवेदनशील हुनुभएन भन्ने कुरा गर्नुभयो । मैले भनेँ–संवेदनशिल त किन नहुनु ? तर डिस्टेन्स राखेर अन्त त काम त चलाईराखेकै छन् नि त ।  राज्य सरकार पनि त चलिराखेकै छ । क्याबिनेटका मिटिङहरु पनि भईराखेकै छन् । हाम्रो कार्यसमितिलाई अलिकति डिस्टेन्स मिलाएर,एक दुई जना जसलाई देखिएको छ उनीहरु बाहिर बसेर  केन्द्रीय कार्यसमिति बैठक सञ्चालन गरौ भन्दा रोकिएको छ । मैले ३ बर्ष अगाडि नै हाम्रो पार्टीको महाधिवेशनका लागि आउन सक्ने समस्याहरुलाई बुझेर नै अहिलेदेखि नै कार्यतालिका बनाएर काम गर्न थालौ । हामीले समयवद्ध भएर काम गरौ भनेर कार्यसमितिमा पनि महासमितिमा पनि प्रस्ताव राखेकै थिएँ । तर त्यो बेलामा त्यसलाई महत्व दिईएन । त्यसलाई पन्छाउने कुरा गरियो । आज आएर साढे ५ बर्षमा अधिवेशन हुन्छ भनेर सभापतिले त्यही बेलामा जसरी भन्नुभयो र मेरो प्रस्तावलाई तर्काउनुभयो । यत्रो संकटमा हामी पुगिसकेका छौ ।

महाधिवेशन समयमै सम्पन्न गर्ने काममा सभापति देउवाले सक्रियता नदेखाउनुको कारण के देख्नुहुन्छ ?

नेपालमा सबैभन्दा ठूलो चिन्ता भनेको लोकतन्त्रमाथि यत्रो खेलवाड भईरहेको छ । सत्ता हत्याएपछि, सत्तामा पुगेपछि, चाहे त्यो पार्टीको सत्ता होस् चाहे त्यो राज्यको सत्ता, जब सत्तामा पुग्छन् अनि त्यहाँ बसेर अन्धाधुन्ध कमिसनको खेल चल्छ  । अरबौका खेलहरु हुन्छन् । जसरी पनि आफु सत्तामा टिकिरहने, जसरी पनि सत्तालाई आफ्नो ग्रिपबाट उम्कन नदिने र लोकतान्त्रिक मुल्य, मान्यता र नैतिकता भन्ने कुरा केही पनि नराख्ने । प्रधानमन्त्री आफुले गरेको विघटन (प्रतिनिधिसभा)लाई जब अदालतले फर्काईदियो उनी एक मिनेट बस्नुहुन्थेन । उनले तुरुन्तै राजीनामा गर्नुपथ्र्यो । उल्टो उहाँ नकचरो भएर उहाँ के भनिरहनुभएको छ भने – यो संसदको के काम ? यो त विकृति ल्याउँछ । विकृति कसले ल्याईरहेको छ ? विकृति त अहिले सत्तामा रहेका मुठठीभर केही नेताहरु, चाहे पार्टी सत्ता होस्, चाहे केन्द्रीय सत्ता होस्, सरकारको राज्यसत्ता होस्, तिनीहरुले देशमा विकृति ल्याएका छन् । चुनावमा जानुपर्छ, यो संसद काम छैन भन्ने प्रधानमन्त्री अहिले पोखरामा के गर्दैछन् ? ५ नम्बर प्रदेशमा के गरे ? लुम्बिनिमा के गर्दैछन् ? यहाँ केन्द्रमा के गर्दैछन् ? अनहोली (अप्राकृतिक गठबन्धन) एलाइन्स गर्दैछन् । लोकतन्त्र भनेको त मर्यादापुर्ण व्यवस्था हो । जीवनपद्धती हो । तर त्यतापट्टी त वास्तै छैन । मुल्य मान्यताप्रति वास्तै छैन । देश र जनतामा के असर पर्छ भन्ने वास्तै छैन । आम जनतामा राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाउने काम नेताहरुले गरिरहेका छन् । त्यसो भएको हुनाले हाम्रो पार्टीभित्र पनि देशको राज्यसत्ता भित्र पनि अहिले जुन खेलहरु भईरहेको छ , यसले चिन्तित बनाएको छ मलाई ।

तपाईको बुझाई हाम्रा लोकतान्त्रिक प्रक्रिया र अभ्यासहरु अंगिकार गर्नुपर्ने कुराबाट नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली दुवै च्युत हुदैछन् भन्ने हो ?

पार्टीभित्र परेको खटपटलाई आधार बनाएर जसरी प्रधानमन्त्रीले संसदमाथि प्रहार गर्नुभयो, संविधानमाथि जसरी प्रहार गर्नुभयो र उहाँले चालेको कदमपछि गलत सावित भयो । त्यो कदम गलत सावित भईसकेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर भन्नुपर्ने र राजीनामा नगरेपछि अविश्वासको प्रस्ताव सदनमा पेश गर्नुपर्ने थियो । संख्या जतिसुकै होस् कर्तव्य र दायित्व त पुरा हुन्थ्यो नि । हामी चाही यहाँ जोखना हेरेर बस्ने ? जोखना हेरेर बस्दा पहिलो अवसर गुम्यो । जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन । त्यो अवस्थामा कम्युनिष्ट पार्टी आफैमा विभाजित भएर बहुसंख्यकले अविश्वासको प्रस्ताव अगाडि बढाएका थिए । त्यो बेला नै कांग्रेसले हाल्नुपर्ने (अविश्वासको प्रस्ताव) थियो । त्यो बेलाको अवसर गुम्यो । त्यो अवसर जानी जानी गुमाईयो ।  के हो भित्र सांँठगाँठ थाहा छैन । त्यसपछि अहिले पनि पछाडि आएर कांग्रेसले जसरी तदारुकताका साथ धर्म निभाउनुपथ्र्यो, त्यो धर्म निभाएको छैन । हाम्रो नेतृत्वले त्यो धर्म निभाएको छैन । त्यो क्रियाशिलता र कर्तव्यपरायणता देखाएको छैन । हाम्रो नेतृत्वमा सरकार बनाउने केपी ओलीलाई राजीनामा गर्न लगाउने अथवा  हटाउने भनेर हाम्रो पार्टीमा हामीले निर्णय त गर्यौ । केपी ओली हटाउने भनेर पार्टीले निर्णय गर्ने, पार्टी नेतृत्वले चाहीँ आलटाल गरेर बस्ने काम भयो । त्यसो भएको हुनाले मैले के देखिराखेको छु भने– जो नेतृत्वमा छन्, राज्यको नेतृत्वमा अथवा पार्टी नेतृत्वमा उनीहरु लोकतान्त्रिक मुल्य मर्यादाप्रति संवेदनशील भएनन् । उनीहरुलाई आफ्नो सत्ताको मात्रै चिन्ता भयो । त्यसले गर्दा मुलुकमा लोकतन्त्रमाथि चिन्ता छाउन थाल्यो । यो अहिलेको चिन्ताको विषय हो ।

कोभिडका कारण महाधिवेशनका कार्यतालिकाहरु क्रमशः प्रभावित हुदै जान्छन्, भदौमा महाधिवेशन नगर्दा बैधानिक रुपमा नै कांग्रेस रहन्न । महाधिवेशन गर्ने बाटो के हुन्छ त ?

बैधानिकता र अबैधानिकता बारे हाम्रो पार्टीको नेतृत्वले परवाह नै गर्न छोड्यो । यस्ता कुरामा चिन्ता नै भईराखेको देखिन्न । हाम्रो पार्टीको कार्यकाल सकिएको त डेढ बर्ष भईसक्यो । अहिले पनि मानिसहरुलाई चिठ्ठी काटिदै छ । नियुक्ति बाडिँदै छ । देशभरी त यो विभागको, प्रतिष्ठानको,उपशाखाको सदस्य भईस् भन्दै मान्छेहरुलाई अन्धाधुन्द अबैधानिक तरिकाबाट पत्र काट्ने काम भईरहेको छ । अहिले पनि भ्रष्ट र विकृत तरिका अपनाएर पद दिएर आफ्नो पक्षमा जनमत बनाउने घिनलाग्दो खेलहरु अहिले पनि चलिराखेको छ । अहिले सबै क्षेत्रमा स्मुथल्ली क्रियाशिल सदस्यता वितरण भयो तर जहाँ सभापति र उपसभापतिको प्रभाव छ त्यहाँ खेल भयो । पार्टी प्रवेशको नाममा मनपरि ढंगले क्रियाशिल सदस्यता बाँड्ने कब्जा गर्ने खालको नितिनियत लिईएको छ । त्यसैले यो पार्टी कसरी बचाउने भन्ने संकटमा हामी छौ ।

पार्टी सभापतिले विधिविधान मिचेर गनु नहुने काम गर्नुभयो भनेर दोष लगाएर मात्रै त हुदैन होला नि ? ट्रयाकमा त ल्याउनुपर्ने होला ? कसरी ल्याउन सकिन्छ ?

पार्टीलाई ट्रयाकमा ल्याउनका लागि हामीले गर्नेकुरा गरिरहेका छौ तर नेतृत्वले ठिक ढंगले अधिवेशन गराउने कुरामा इमान्दारीता नदेखाउने हो भने हामी मात्रै बाहिर कराएर अधिवेशन समयमा समयमा सम्पन्न नहुन सक्छ । अधिवेशन समयमा सम्पन्न नहुदा हाम्रो पार्टीको बैधानिकता नै संकटमा पर्छ । पार्टी विधानमा त संकट परिसक्यो । पार्टीको विधानले त हामी सदस्य नै होइनौँ । शेरबहादुर जी सभापति पनि होइन । म केन्द्रीय सदस्य पनि होइन । अब देशको संविधान अनुसार भदौ भन्दा उता हामी कोही पनि सदस्य रहदैनौ । कोही पनि पदाधिकारी रहदैनौ । हाम्रो कुनै पनि दाबी पार्टीमा हुदैन । त्यसकारण अराजक स्थिति जन्मन्छ । त्यस्तो अवस्था आउँछ भने अल्टरनेटिभ उपाय सोच्ने कुरा हामी विचार गर्दैछौ । अहिले म भन्दिनँ कुन चाही अल्टनेटिभ हुन्छ भनेर तर पार्टीको अस्तित्व त बचाउनुपर्यो । नेपाली कांग्रेस त यो देशमा बच्नुपर्यो । लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसलाई लोकतान्त्रिक मुल्य, मान्यता अनुसार बचाएर राख्ने कुरामा हामी प्रयत्न गर्छौ ।

तपाईहरुले आफु पक्ष मात्रै छलफल हो कि केन्द्रीय समितिमा बैकल्पिक बाटो के हुन्छ भनेर छलफल गर्नुभएको छ ?

केन्द्रीय समितिमा कुनै छलफल भएको छैन । हुन त मैले आफ्ना कुरा समितिमा थोरै प्रवेश त गराएको छु । अहिले विकल्पबारे छलफल गर्ने बेला भएको छैन । अहिले त यही अधिवेशनलाई नै सम्पन्न गर्नेमा हामी छौँ ।