• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु ★   न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छः सभापति देउवा



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ ।

संविधान दिवसको शुभकामना व्यक्त गर्दै उहाँले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताउनुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले ऐतिहासिक जननिर्वाचित संविधानसभामार्फत संविधान निर्माण भई जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालका रुपमा काम गरिरहेका बताउनुभएको छ ।

“नयाँ संविधानअनुसार विभिन्न ऐन÷कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयनतर्फ अघि बढेको छ । नयाँ संविधानअनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसारको काम गर्न अग्रसर देखिएका छन्”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नभएको छ ।

संवैधानिक अभ्यासमा भएका कमीकमजोरी सच्याउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै सभापति देउवाले सबै राजनीतिक दल, नागरिक समाज, निजीक्षेत्र र विभिन्न पेशाकर्मीको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशका रुपमा अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताउनुभएको छ ।

विसं २००७ देखि सुरु भएको विभिन्न चरणका राजनीतिक सङ्घर्ष र प्रातः स्मरणीय सहिदको बलिदानको उपलब्धिका रुपमा संविधान सभामार्फत संविधान जारी भएको बताउँदै उहाँले संविधानको सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवं समृद्धिसहितको समुन्नत मुलुक बनाउन सबैले एकआपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सभापति देउवाले मुलुकलाई केही वर्षमा नै समुन्नत मुलुकका रुपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको बताउँदै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर सहभागी हुन अनुरोध गर्नुभएको छ ।

उहाँले संविधान दिवसका अवसरमा विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाइ गरेका अग्रज नेता, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । रासस