५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

ढोरपाटनमा मगर भाषा लोप हुँदै

ढोरपाटनमा मगर भाषा लोप हुँदै
अ+ अ-

ढोरपाटन । दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन ।

भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरुको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीयर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उहाँको बुझाइ थियो ।

“हाम्रो पालमा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरु सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्षअघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ, अहिले मगर बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्”, बुढामगरले भन्नुभयो, “१२/१५ वर्षअघिसम्म धैरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन्न् । केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी छ ।”

ढोरपाटन नगरपालिका–४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरुको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उहाँका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे ।

ढोरपाटन नगरपालिका–६ कि खिमकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्ति गर्नुभयो । मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताउनुभयो । भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

“पहिला सानोमा अरुले बोलेको सुनेर हामीले पनि मगर बोल्थयौँ । अहिले कहीँकतै अरुले बोलेको सुनिदैन, हामीले बोल्ने भाषा हराउँदै गएको छ, बुढापाका बाहेक अरुले बुझ्दैनन्, केटाकेटीलाई सिकाउन पाए भाषा संरक्षण हुने थियो”, खिमकुमारीले भन्नुभयो, “भाषा सिक्नका लागि नगरपालिकाले सहयोग गर्नुपर्छ, विदेश जान भाषा सिक्न हुने आफ्नै भाषा सिक्न नहुने भन्ने हुन्छ र ?”

पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाष लोप भइसकेको छ । यस क्षेत्रमा बोलिने भाषालाई निसेल, भुजेल र भल्कोटे भाषा भनिन्छ ।

निसीखोला गाउँपालिकाले भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन सुरु गरेकाले यहाँ भने लोप हुने अवस्था नआएको स्थानीयको भनाइ थियो । ढोरपाटनमा पनि विद्यालय तहदेखि नै पाठ्यक्रम बनाउनुपर्ने स्थानीयको माग छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको भन्दै यसको संरक्षणका लागि पालिकाले योजना बनाएर अघि बढ्ने बताउनुभयो । अहिले गाउँमा बुढापाकाले मौलिक भाष बोल्ने गरे पनि युवापुस्ताले नबुझ्ने उहाँको भनाइ थियो ।

भाषा जान्नेहरुबाट युवा र बालबालिकालाई सिकाउने वातावरण तयार गरिने उपप्रमुख कायतले बताउनुभयो । “अहिलेका नयाँ पुस्ता कसैले पनि मगर भाषा बुझ्दैनन्, हामीले यो भाषाको संरक्षण गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यसको संरक्षणका लागि विभिन्न समुदायसँग छलफल गरेर नयाँपुस्तालाई पनि मगर भाषा सिकाउने गरी योजना बनाएका छौँ, भाषा संरक्षणसँगै हराउन थालेका अन्य संस्कार तथा संस्कृतिको पनि जगेर्ना गर्ने तयारीमा छौँ ।” रासस