लन्डनः इङ्लिस प्रिमियर लिगको यस वर्षको उपाधि म्यान्चेस्टर सिटीले जित्ने लगभग पक्का भएको छ । सिटीका लागि अब केबल तीन अंक मात्र जरुरी छ ।
आइतबारको खेलमा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडलाई लिभरपुललाई हराएमा सिटीले उपाधि जित्नेछ । तर सशक्त फर्ममा रहेको सिटीले अर्को खेल जितेमा पनि उपाधि चुम्नेछ ।
शनिबारको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गरेको थियो । पहिलो हाफमा सिटीले लगातार आक्रमण गरे पनि गोल गर्न सकेको थिएन । तर दोस्रो हाफमा सिटीका लागि सर्जियो अग्वेरोले ५७औं मिनेटमा पहिलो गोल गरे । त्यसको लगत्तै ५९औं मिनेटमा फेरान टोरेसले अर्को गोल गरेर सिटीको अग्रता दोब्बर बनाएका थिए ।
यो जितसँगै सिटीले अंक तालिकामा ३४ खेलबाट ८० अंक बनाएको छ । सिटीले अझै चार खेल खेल्न बाँकी छ ।
दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ३३ खेलबाट ६७ अंक मात्र छ । क्रिस्टल प्यालेस भने लिगको १३ औं स्थानमा छ ।
सर्जियोका लागि अविस्मरणीय गोल
सिटीका लागि सर्जियो अग्वेरोले २५८ औं गोल गरेका छन् । उनले सिटीका लागि १० वर्ष खेलिसकेका छन् र आगामी सिजनदेखि उनले सिटी छाड्दैछन् ।











