६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा



अ+ अ-

काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याइएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याइएको हो । एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिनुभएको छ ।

नेम्वाङको अन्त्येष्टि भोलि बुधबार गरिने बताइएको छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । साथै अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।

सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।