एजेन्सी । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ओभरपास भत्किएर मेट्रो ट्रेन सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने सोही घटनामा परी ७० जना घाइते भएका छन्। सोमबार राति मेट्रो ट्रेन गुडिरहँदाओभरपास भत्किएर सडकमा खसेको हो।
मेक्सिको सिटीका मेयर क्लाउडिया शिनबौमले १५ जनाको मृत्यु भएको पुष्टि गरेका हुन्। मेट्रो ट्रेन ओभरपास मुनि सडकमा गुडिरहेका कारहरूमाथि खसेको स्थानीय मिलेनियो टिभीले प्रसारण गरेको भिडिओमा देखिएको छ।
'दुर्भाग्यवश त्यहाँ मृतक र घाइते मानिस छन्। अहिले म घटनास्थलमा कमान्ड सेन्टर स्थापना गर्न सहयोग गर्दैछु,' मेयर शिनबौमले ट्विटरमा लेखेका छन्। अहिलेका विदेशमन्त्री मार्सेलो इब्रार्ड मेक्सिको सिटीका मेयर हुँदा मेट्रो बनेको थियो। उनले यस घटनाको अनुसन्धान गर्नुपर्ने बताएका छन्।











