काठमाडौं । राष्ट्रियसभा सदस्यको उप निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एमाले माधव नेपाल समूहले डा. खिमलाल देवकोटालाई साझा उम्मेदबार बनाउने निर्णय गरेको छ ।
मंगलबार साँझ काग्रेस सभापति शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपाल र जसपा नेता उपेन्द्र यादव बीच डा. देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएका हो । राष्ट्रियसभा सदस्य एव. गृहमन्त्री रामबहादुर थापाले दल परिवर्तन गरेपछि माओबादी केन्द्रले उहाँको सांसद पद रिक्त गराएको थियो ।
राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेले थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । केही समय बाग्मती प्रदेशको योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका देवकोटाले विकास अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ भने उहाँ वित्तिय संघीयता व्यवस्थापनका विज्ञरुपमा समेत परिचित हुनुहुन्छ ।
न्यूजपोलारसँग कुरा गर्दै देवकोटाले दलहरुको निर्णयलाई आफूले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिनुभयो । देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भइ कार्य गरेका देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारकारुपमा काम गरिसकेका छन्।











