• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो ★   सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको ठहर ★   मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै ★   १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ :… ★   आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह ★   प्रधानमन्त्री दाहालले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने ★   प्रतिनिधि सभाको बैठक आज बस्दै, के गर्ला कांग्रेसले ? ★   विधिमा होइन, बलमिच्याइँमा संसद् ★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा

सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारको सहयोग



पाटन ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पुर्‍याएको नेपालको सम्पदा पुन:निर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताउनुभएको छ ।

ललितपुर महानगरपालिका–११ इखाछेंमा अवस्थित पुन:निर्मित नापिचन्द्र विहारको समुद्घाटन समारोहमा उहाँले भन्नुभयो, “यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्दै दीर्घकालसम्म जीवित राख्न भारतीय सरकारले गरेको सहयोग अतुलनीय छ । यसरी पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

नगरप्रमुख महर्जनले सम्पदा संरक्षणका लागि विश्व बैकले गरेको लगानीबाट भएको उत्कृष्ट काम र उपत्यकाभित्र देखाउन लायक सम्पदा ललितपुरको पिम्वहाल पोखरी मात्रै भएको भन्दै सम्पदा संरक्षणका लागि ललितपुरले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।

सामाजिक क्षेत्र र सम्पदा संरक्षणका क्षेत्रमा अतुलनीय र अति राम्रो काम सम्पादन गरेको भन्दै बागमती प्रदेश सरकार र प्रधानमन्त्रीबाट समेत सम्मानित हुने अवसर पाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा महानगरभित्र एक सय ३२ वटा पाटी पौवा निर्माण गरेको प्रस्ट पार्दै सबै पार्टीपौवाको जीर्णोद्धार तथा पुन:निर्माणले राम्रो प्रभाव पारेको बताउनुभयो । यी सबै काममध्ये पनि राम्रो काम नापीचन्द्र महाविहारको पुन:निर्माण भएको उहाँको धारणा थियो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदा र मठमन्दिर निर्माणबाट नयाँ अनुभव प्राप्त भएको धारणा राख्नुभयो । “सन् २०१५ मा भारत सरकारबाट भूकम्पबाट प्रभावित नेपालका आवास तथा सम्पदा पुन:निर्माणका लागि २५ करोड अमेरिकी डलर घोषणा भएको थियो । त्यहीमध्येबाटै नापीचन्द्र महाविहारको पुन:निर्माण भएको हो । सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टले कन्सल्टेन्टका रूपमा सहयोग गरेको हो । केही समयपहिले बूढानीलकण्ठमा धर्मशाला पुन: निर्माण सम्पन्न गरेको थियो”, राजदूत श्रीवास्तवले भन्नुभयो ।

राजदूत श्रीवास्तवले ललितपुरका नगरप्रमुखसँगको समन्वय र भारतीय सहयोगमा बाँकी काम सम्पन्न गर्न प्रयत्नशील रहने धारणा राख्नुभयो । नेपालीहरूको सहयोग रहेसम्म नेपाली संस्कृति धरोहरको संरक्षणका लागि भारतीय सहयोग हुने भन्दै उहाँले नेपाल र भारतबीच रहेको धार्मिक सांस्कृतिक सम्बन्ध प्रगाढ रहने बताउनुभयो ।

भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टको प्राविधिक सहयोग तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइद्वारा कार्यान्वयन गरी महाविहारको पुन:निर्माण सम्पन्न भएको हो । महाविहारको लागत रु दुई करोड ७६ लाख रहेको ललितपुर विकासका लागि समाजका अध्यक्ष तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले जानकारी दिनुभयो । रासस