२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

#मायाका निर्माताले कलाकारबाट पाएको हैरानी यसरी पोखे



अ+ अ-

म सन् २००६ मा फिल्म डाइरेक्सनमा सिटि युनिभर्सिटी अफ न्युयोर्कबाट मास्टर्स गरेर नेपाल फर्किएको हुँ।

नेपाली फिल्मको गुणस्तर उकास्न एउटा मौलिक चलचित्र बनाउने सपना थियो त्यसै अनुरुप ‘#माया’ को परिकल्पना भएको हो र यो चलचित्रसँग मेरो आमाको पनि सपना जोडिएको थियो । यो चलचित्र उत्कृष्ट बनाउन मैले हरसम्भव प्रयास गरेँ।मेरो यही सपनालाई कमजोरी ठानिएको रहेछ। विगत ३ वर्षदेखि यो चलचित्र निर्माणका दौरान मैले मुख्य कलाकारले राखेका हरेक डिमाण्ड पूरा गरेँ।

त्यसका लागि विगत ३ वर्षदेखि नायिकाकै अनुरोधमा पाटन झम्सिखेल हुँदै बूढानीलकण्ठसम्म घर भाडामा लिएर त्यहाँको सम्पूर्ण खर्च आफैँ व्यहोरेँ, मलाई भनिएको थियो क्यारेक्टरमा बस्नका लागि छुट्टै एकान्तमा घर आवश्यक पर्छ।यो घर मैले ४५ दिनजतिका लागि होला भनेर मन्जुरी दिए तर उहाँहरुको मनसाय जति सक्दो फिल्मको समय लम्ब्याउने र यही घरमा बसिरहने रहेछ। फिल्मको स्क्रिप्ट उनीहरूकै मन्जुरीमा बारम्बार पास भएर एक तहको प्राविधिकहरुले रकम बुझिसकेपछि पनि सुटिङ सुरु गर्ने दिन स्क्रिप्ट चित्त नबुझेको भन्दै उनीहरूकै आग्रहमा बारम्बार सुटिङ स्थगित गरियो ।

म कुनै पनि रुढीवादी परम्परामा विश्वास गर्ने मानिस होइन तर जति प्रयास गर्दा पनि फिल्म अघि नबढेकाले नायिकाले मेरो ग्रह खराब चलेको भन्दै तान्त्रिकसँग पूजा गराएमा राम्रो हुने भनेपछि म यतिका प्रयास त गरेँ यो प्रयास पनि गरी हेरौँ भन्ने मनस्थितिमा पुगेको हुँ। ग्रह दशा तान्त्रिकले हल गरिदिन्छ भनेर मलाई बारम्बार भनियो र फलस्वरुप रु ५ लाख को पूजा गराइएको हो । यदि आवश्यक परे त्यसको प्रमाण पनि मसँग सुरक्षित छ। महिला भएकै कारण सधैँ महिला ठीक र पुरुष भएकै कारण सधैँ पुरुष बेठीक हुँदैनन् । महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ती महिला हुन् स्वर्गीय सारुककी आमा जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यही तोडमा श्रीमान्ले पनि संसार छाडेपछि अथाह वेदनामा छिन्।

म र चलचित्रसँग जोडिएको हरेक व्यक्ति जुनसुकै समयमा सूचना र जानकारीका लागि उपस्थित थियौँ ।सुटिङ युनिट बसेको घरको अनुसन्धान हुनुपर्छ भनेर हाम्रै पहलमा प्रहरीले घर सिलका साथै केही शंकास्पद वस्तु लिएर गएको छ। यसअघि नै त्यहाँ बाट केही सामान ओसारिएको हामीले जानकारी पाएका थियौँ । घटनाको वास्तविकता जस्ताको तस्तै बाहिर आउनुपर्छ र सारुकले न्याय पाउनुपर्छ भनेर हामीले प्रहरीलाई पनि आफ्नो बयान दिइसकेका छौँ।

बारम्बार अनेकन बहाना झिकेर फिल्मलाई अघि बढ्न किन दिइएन भन्ने प्रश्नको जवाफ मैले पनि खोजिरहेको छु। मेरो सपना, लगानी र मिहिनेत सारुकको जीवनको अघि केही होइन त्यसैले सारुकले न्याय पाउनुपर्छ। सारुक भाइको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउन पर्छ। अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ त्यो पनि सार्वजनिक हुन पर्छ। मुलुकको न्याय प्रणालीमा मलाई पूर्ण विश्वास छ, यो घटनाले उब्जाएका तमाम प्रश्नको जवाफ न्यायको कसीमा बसेर कानूनले दिनेमा म आशावादी छु।

सत्यको जीत होस् र कानूनको न्यायभन्दा माथि ईश्वरको न्याय हुन्छ र सत्य एक दिन उजागर हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु।

#मायाका निर्माता तथा निर्देशक राजीब गुरुङको फेसबुकबाट